डोटीमा चितुवा आतंक : एकै दिन ८ जनालाई आक्रमण, दिउँसै आउँछ गाउँमा

Sayalb

किरण धामी, डोटी
डोटीको पुर्विचौकी गाउँपालिका वडा नम्बर ५ काडामाणडौँमा चितुवा आतंक बढेको छ । मंगलबार देखि चितुवा गाउँमै पुग्न थालेको स्थानीयले बताएका छन् । मंगलबार एकै दिन चितुवाले ८ जनालाई आक्रमण गरेको काडामाण्डौँका वडा अध्यक्ष खडक साउदले जानकारी दिनुभयो । अध्यक्ष साउदका अनुसार आज (बुधबार) पनि गाउँ भित्र पसेको चितुवालाई स्थानीयले होहल्ला गरेर लखेटेका थिए । स्थानीयले लखेटेको चितुवा गाउँसँगै जोडिएको वनमा पसेको छ । दिउँसै चितुवा गाउँमा आइ मानिसलाई आक्रमण गर्नलागेपछि स्थानीय त्रसित बनेका छन् । गत कार्तिक २३ गते बिहान गएको भूकम्पका कारण त्रिपाल टाँगेर दिन बिताइरहेका स्थानीयमा थप चितुवाको त्रास बढेको छ ।
दिउँसै चितुवा आएर आक्रमण गर्नथालेको भन्दै स्थानीयले ज्यानको सुरक्षा गरिदिन वडा कार्यालय, गाउँपालिका, प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्याय, वडा नम्बर ४ का वडा अध्यक्ष, रेडक्रसकर्मी तथा सानागाँउ प्रहरी कार्यालयका दुई जना प्रहरी जवान सहित आफू बोगटी टोल गइरहेको वडा अध्यक्ष साउदले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय डोटीले सो ठाउँमा ६ जनाको टोली पठाएको छ । बुधबार (आज) साझ प्रहरी सहायक निरिक्षक श्याम गरिको कमाण्डमा ७ जनाको टोली पठाईएको प्रहरी निरीक्षक तथा सहायक प्रवक्ता लक्ष्मीराज जोशीले जानकारी दिनुभयो । प्रहरीले स्थानीयलाई चितुवा बाट बच्न रातिको बेला घरबाहिर नआउन, दिउँसो पनि एक्लै हिँडुल नगर्न, चितुवा देखिएमा उसलाई नजिस्काउन तथा कतै जानै परेमा ग्रुपमा जान आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय डोटीले चितुवा नियन्त्रणमा लिनको लागि डिभिजन वन कार्यालय डोटी तथा खप्तड राष्ट्रिय निकुञ्जसँग समन्वय गरिरहेको जनाएको छ ।
मंगलबार चितुवाले बटाला गाउँका ४५ वर्षिया सरु देवी बटाला, उनका ४ वर्षका नाति सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षिय लालि गिरी र १० वर्षिया हसिना गिरी, बणकाट्या टोलका गंगा साउद र सारु साउद तथा बोगटी टोलका २१ वर्षिय इन्द्र बोगटीलाई आक्रमण गरेको थियो । उहाँहरु सबैको अवस्था सामान्य रहेको छ ।
सुरुमा बणकाट्या टोलमाका दुई जनालाई आक्रमण गरेको चितुवाले साँढे ५ बजे बटाला गाउँका ५ जनालाइ आक्रमण गरेको थियो भने सोही दिन राति ९ बजे खाना खाएर हात धुनेक्रममा बोगटी टोलका युवकलाई आक्रमण गरेको थियो ।
साथै चितुवाले शारदा देवी बटालाको एक बाख्रालाई समेत आक्रमण गरेको बताईएको छ ।

Shaileshwori
Loading...