समीक्षा गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन 

Sayalb
डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकामा एक कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ । अभियानको अवसरमा १६ दिन नगरपालिका भित्र गरिएका विभिन्न कार्यक्रमको समीक्षा गर्दै कार्यक्रमको समापन गरिएको हो । नगरपालिकाका नौ वटै वडामा नगरपालिका तथा विभिन्न १८ वटा सङ्घसंस्थाले लैङ्गिक हिंसा सम्बन्धि विभिन्न कार्यक्रम गरेका थिए । शनिवार नगरपालिकाको सभाहलमा लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया तथा समीक्षा कार्यक्रम गरिएको थियो ।
अधिकांश महिलाले केही न केही रूपमा हिंसा भोगिरहेको भए पनि विभिन्न परिबन्धका कारण उनीहरू प्रतिवादमा उत्रिन नसकिरहेको जिल्ला समन्वय उपप्रमुख स्मृति चुनाराले बताउनुभयो । “चिया पसल, बाटोमा धेरै जना अर्काको चियो चर्चा गरिरहेका हुन्छन्, उहाँले भन्नुभयो, भए नभएको कुरा गर्दैमा ठिक्क छ, यस्ता कुराहरूले गर्दा धेरैको घरबार बिग्रिने सम्भावना आएको छ ।” राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण फरक रहेको बताउँदै त्यस्तो सङ्कीर्ण सोच नहटाए सम्म महिला हिंसामा परिरहने उपप्रमुख चुनाराको भनाई छ ।
दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी खड्काले हरेक नागरिकले जानेका कुरा गर्नुपर्नेमा जोड दिनुभयो । समाजका हरेक जसो नागरिकमा हिंसा गर्नु हुँदैन भन्ने जानकारी भए पनि व्यवहारमा लागु हुन नसको प्रमुख खड्काले बताउनुभयो । जानेको ५० प्रतिशत कुरालाई मात्रै व्यवहारमा लागु गरेमा हिंसाको अन्त्य हुने उहाँले बताउनुभयो । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान हरेक वर्ष सेप्टेम्बर २५ देखी डिसेम्बर १० तारिखसम्म मनाइन्छ ।
 
Shaileshwori
Loading...