
डोटी : समाजमा कायमै रहेका परम्परागत हानिकारक अभ्यासहरुको न्यूनिकरणका लागि धार्मिक अगुवाहरुको परिचालन गर्ने उद्देश्यले डोटीको सिलगढीमा अन्तरधार्मिक बाल संरक्षण समुहलाई आशाको किरण सम्बन्धी दुई दिने तालिम डोटीको सिलगढीमा सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा महिला हिंसा बिरुद्ध अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले तालिमको आयोजना गरेको हो ।

महिला हिंसा विरुद्ध अन्तर धार्मिक सञ्जालकी कार्यक्रम संयोजक शेष नाहिदा बानुका अनुसार समुदाय स्तरमा गठन गरिएका अन्तर धार्मिक बाल संरक्षण समूह सँग आबद्ध विभिन्न धर्मका धार्मिक अगुवाहरूको सहभागिता रहेको थियो । तालिममा बाल संरक्षण, बाल अधिकार सम्बन्धी ऐन तथा कानुनहरूको जानकारी, धार्मिक ग्रन्थहरूमा बाल संरक्षणका विषयमा भएका प्रावधानहरू, बाल संरक्षण र परम्परागत हानिकारक अभ्यासहरूको न्यूनीकरणमा धार्मिक अगुवाहरूको भूमिका लगायतका विषयमा छलफल भएको बताइएको छ ।
