
गणेश मौनी
पुस ४ डोटी
युनाईटेड मिसन टु नेपाल डोटी क्लष्टरले डोटीका भूकम्प प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको छ । डोटीको सायल गाउँपालिका वडा नम्बर ६ साउद नाराका १ सय ५० जना प्रभावितहरूलाई त्रिपाल सहयोग गरेको युएमएन डोटीका सुशासन परियोजना व्यवस्थापक खेम भण्डारीले बताए । उनले भने भूकम्पका कारण सायल गाउँपालिकाका अधिकांश घरहरूमा समेत क्षति भएकाले त्रिपाल सहयोग गरेको हो ।
सायल गाउँपालिकाको समन्वय तथा वडा कार्यालयको रोहबरमा सोमबार युएमएन डोटीले प्रभावित गाउँमै गएर प्रभावित परिवारलाई हस्तान्तरण गरेको हो । भूकम्पले गर्दा सायल गाउँपालिकामा अधिकांश घरहरूमा क्षति गरेको सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताए । गाउँपालिकालाई अति आवश्यक रहेको त्रिपाल युएमएन डोटीले सहयोग गरेको प्रति धन्यवाद समेत व्यक्त गरेका थिए ।
युएमएन डोटी क्लष्टरले भूकम्प प्रभावितहरूलाई बिपत व्यवस्थापन कोषबाट त्रिपाल सहयोग गरिएको युएमएन डोटी क्लष्टरका लेखा संयोजक खडक सुनारले बताए । १ लाख ९१ हजार २ सय ५० रुपैयाँ बराबरका त्रिपालहरू सहयोग गरिएको समेत लेखा संयोजक सुनारले बताए । युएमएन डोटीले यो भन्दा पहिले डोटीको पुर्विचौकी गाउँपालिकामा रहेका भूकम्प प्रभावितहरूलाई पनि २ सय थान न्यानो कम्बल गाउँपालिका मार्फत सहयोग गरेको थियो ।
२०७९कात्तिक २२ गते राती २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खप्तड बाबा आश्रम नजिक केन्द्रबिन्दु बनाएर गएको भूकम्पले डोटीको पुर्बिचौकी गाउँपालिका वडा नम्बर ३ गैरा गाउँमा ६ जनाको ज्यान गएको थियो भने ७ जना घाइते भएका थिए । पालिका भित्रका अन्य वडाहरूमा र नजिकका छिमेकी पालिकामा रहेका अधिकांश घरहरूमा समेत क्षति पुगेको थियो । सायल गाउँपालिका पनि पुर्बिचौकी गाउँपालिका सँग जोडिएको पालिका हो ।

