
मोहन ठकुल्ला, डोटी
जिल्ला प्रहरी कार्यालय डोटी अगाडी भएर जाने पहलमानसिंह स्वार्र राजमार्गको सडक खण्डमा लस्करै गाडी देखिन्छन् । यही ठाउँबाट बाहिर जाने यात्रु गाडी चढ्ने तथा सदरमुकाम भित्रिने यात्रु उर्लिने गर्छन् । यहाँबाट दर्जनौँ गाडीहरू जिल्ला बाहिर बाहिरिने तथा भित्रिने गर्छन् । यो ठाउँ बस पार्क भने होइन ।
जिल्ला सदरमुकाम समेत रहेको सिलगढीमा बसपार्क नभएको भने होइन । दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ मा वि.स २०५४ सालमा निर्माण भएको बसपार्क छ । यो बसपार्क विभिन्न कारणले पुर्णरुपमा प्रयोगमा भने आएको देखिदैन् । त्यति बेला रु ७२ हजारमा निर्माण भएको बसपार्क अहिले प्रयोगविहीन छ । जहाँबाट सवारी साधन छुट्नु पर्ने हो त्यहाँबाट नछुटे पछि यात्रुहरूले समेत गाडी कुर्नको लागि सडकमै बस्नुपर्ने बाध्यता रहेको छ । निर्माण भएको करिब १२ वर्ष बसपार्क सञ्चालनमा आएको भए पनि प्रयोग विहीन भएको पनि त्यति नै वर्ष भएको छ ।
जिल्लाबाट दैनिक रूपमा आवतजावत गर्ने सवारीसाधनहरू पहलमान सिंह स्वाँर राजमार्गमा रोकिने गरेका छन् । सवारीसाधन मुख्य सडकमै पार्किङ गरिदा दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । बसपार्क निर्माण गर्दा लागेको सरकारी लगानीको दुरुपयोग भएको स्थानीय नवीन श्रेष्ठको भनाइ छ । ‘कुनै बेला धेरै चहलपहल हुने बजार सुनसान जस्तै भएको छ, स्थानीय व्यापारी गिरी बोगटीले भने, ‘बसपार्क सञ्चालन नहुँदा व्यापार व्यवसायमा समेत मन्दी आएको छ । व्यापार हुन छोडेपछि धेरै जसो व्यक्ति पलायन भएका उनले बताए ।

रातिको समयमा सिलगढी पुग्ने यात्रु अलपत्र पर्ने गरेको स्थानीय प्रभु श्रेष्ठले बताए । “सडकमै गाडी कुर्नु पर्दा यात्रुहरूले सास्ती खेप्नु पर्छ, उनले भने, कहिलेकाहीँ त गाडी नै भेटिँदैन ।” यात्रुहरूलाई कहाँ झर्ने र कहाँ देखि गाडी छुट्छ भन्ने थाहा नहुने गरेको उनले बताए । भएको बसपार्क सञ्चालन गर्न अथवा नयाँ केही सोच्न स्थानीय सरकारलाई उनको आग्रह छ ।
जतिसुकै सरकार फेरिए पनि सिलगढीको मुहार नफेरीको भन्दै अर्का व्यापारी विक्रम केसीले दुखेसो सुनाए । सवारीसाधन उचित ठाउँमा व्यवस्थापन गर्न नसक्नुमा उनी दिपायल सिलगढी नगरपालिका तथा सम्बन्धित निकायको गल्ती देख्छन् । दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजयी खड्काले बसपार्क पायक पर्ने ठाउँमा नभएकै कारण सञ्चालनमा आउन नसकेको बताए । बसपार्कलाई सञ्चालनमा ल्याउन खोजे पनि सफल हुन नसकेको उनको दाबी छ । यातायात व्यवसायीको मनोमानी र जिल्ला ट्राफिक कार्यालयको गैर जिम्मेवारी पनले उक्त समस्या देखिएको छ ।
ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख भीम बहादुर बोहराले गाडी व्यवस्थापन गर्न चुनौती रहेको बताए । नगरपालिकाले पार्किङ बोर्डको व्यवस्था गरी निश्चित पार्किङ क्षेत्र तोक्नु पर्ने र नगर प्रहरीको समेत सवारीसाधनलाई उचित स्थानमा पार्किङ गर्न लगाउने दायित्व रहेको बोहराले बताए । सवारी साधनको व्यवस्थापनका लागि नगर प्रहरी, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयको प्रभावकारी समन्वय हुनुपर्ने उनले बताए ।
शैलेश्वरी यातायात प्रालिका अध्यक्ष गणेश मलासीका अनुसार बसपार्क सबैको पायक पर्ने स्थानमा नभएको र पहिले निर्माण गर्ने व्यक्तिहरूले उचित स्थानमा नबनाएका कारण सञ्चालनमा ल्याउन समस्या भइरहेको बताए ।

