
पुस ९, डोटी
डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडामा बाल क्लबका पदाधिकारीहरूका लागि दुई दिने जीवन उपयोगी सिप तालिम शनिवार सम्पन्न भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले बालबालिबाहरुलाई जीवन उपयोगी सिप सम्बन्धी विभिन्न विषयमा जानकारी गराई दैनिक जिवको व्यवहारमा कार्यान्वयन गर्न सहजता होस भन्ने उद्देश्यले तालिमको आयोजना गरेको सामुदायिक विकास केन्द्र डोटीका एकीकृत सामुदायिक विकास परियोजनाका अधिकृत एकराज बडुले बताए ।

बालबालिकाहरूलाई हरेक तवरले कसरी लगनशील, सभ्य, मेहनती र अनुशासित बनाउन सकिन्छ भन्ने तालिमको मुख्य ध्येय हो । सोही अनुरूप बालबालिकाहरूलाई विभिन्न विषयमा जानकारी गराएको र वडा अन्तर्गतता सबै विद्यालयहरूमा बाल क्लब गठन गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको समेत अधिकृत बडुले बताए ।
वडा कार्यालयमा सञ्चालन भएको तालिममा बालबालिकाहरूका लागि जीवन उपयोगी सिप, बाल अधिकार, बाल क्लब व्यवस्थापन र बालबालिकाहरूको कर्तव्य र अधिकारको बारेमा छलफल गरिएको थियो । दुई दिन सम्म सञ्चालन भएको तालिममा वडा अन्तर्गतता विभिन्न बाल क्लबबाट २३ जना बालबालिकाहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण पत्रकार गणेश मौनीले गरेका थिए ।
