
डोटी : राष्ट्रिय जनमोर्चा डोटीले विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । पेट्रोलियम पदार्थमा भइरहेको कालोबजारी, सार्वजनिक यातायातको भाडादरमा भइरहेको मनपरी लगायतका माग राख्दै जनमोर्चाले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । जिल्लामा अवैध रूपमा भइरहेको मदिराको बिक्री वितरण तथा जुवा तासलाई नियन्त्रणमा लिनुपर्ने पार्टीका जिल्ला अध्यक्ष डबल बोगटीले हस्ताक्षर गर्नुभएको ज्ञापन पत्रमा भनिएको छ ।

पेट्रोलियम पदार्थको कालोबजारी, पेट्रोल पम्पमा तेलको कृत्रिम अभाव देखाई बाहिर बजारमा खुला रूपमा महँगो मूल्यमा बिक्री वितरण भइरहेकाले तत्काल रोक्नुपर्ने, ग्रामीण सडकहरूमा चल्ने सवारी साधनहरूले यात्रुसँग मनपरी भाडा लिएकाले यसलाई रोक्दै वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, दिनप्रतिदिन विकरालको रुप लिँदै गरेको जाँडरक्सीको अवैध बिक्री वितरण तथा ओसारपसार कार्य र जुवातासलाइ रोक्नुपर्ने माग जनमोर्चाको छ । यी विषयमा जिल्लाका सरोकारवाला सबै पक्ष सँग आवश्यक छलफल तथा परामर्श गरी समस्या समाधान गर्नका जिल्ला अध्यक्ष बोगटीले बताउनुभयो ।

