
मोहन ठकुल्ला, डोटी
खप्तड–शैलेश्वरी अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७९ अन्तरगत फुटबल र कबड्डी प्रतियोगिताको उपाधि पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयले हात पारेको छ । मङ्गलवार सम्पन्न फाइनल प्रतियोगितामा फुटबलमा सुजङ्ग बोर्डिङ स्कुललाई र कबड्डी प्रतियोगितामा पवित्र बोर्डिङ स्कुललाई हराउँदै पद्म पब्लिकको टिमले जित हात पारेको हो ।

फुटबलमा पद्म पब्लिकले सुजङ्गसँग १–० गोल अन्तरको जित निकाल्दा कबड्डी प्रतियोगितामा पवित्रलाई ६७ अङ्कले पछि पार्दै जित हात पारेको हो । पद्म पब्लिकले कबड्डी प्रतियोगितामा ७९ अङ्क प्राप्त गर्दा पवित्रले १२ अङ्क पाएको थियो । फुटबल तथा कबड्डी प्रतियोगितामा विजयी भएको पद्म पब्लिकले दुवै प्रतियोगिताको पुरस्कार नगद रु १५/१५ हजारका साथै ट्रफी र प्रमाणपत्र पाएको छ । फुटबलमा द्वितीय भएको सुजङ्ग स्कुलले नगद १० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ । भने कबड्डीमा द्वितीय भएको पवित्र स्कुलले पनि नगद १० हजार सहित ट्रफी प्रमाणपत्र पाएको छ । कबड्डी प्रतियोगितामा दिपा विष्ट उत्कृष्ट खेलाडी बन्नुभएको छ ।
साथै ९ गते सम्पन्न चित्रकला प्रतियोगितामा प्रथम भएका तेडि माद्यामिक विद्यालयका आशिक साउदले रु ३ हजार सहित प्रमाणपत्र र द्वितीय भएका पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयका डायमन्ड ओलीले नगद १ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पुस ९ गतेबाट सञ्चालन भएको प्रतियोगिता मङ्गलवार सम्पन्न भएको हो । श्री भैरव प्रसाद गण र जिल्ला स्तरीय बाल सञ्जाल डोटीको संयुक्त आयोजना तथा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ को प्रायोजनमा प्रतियोगिता सञ्चालन भएको हो ।
