
डोटी : डोटीको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख वाजी सिंह खड्का ‘विजय’ ले विद्यालयलाई आर्थिक र भौतिक संरचनाको अभाव हुन नदिने बताउनुभएको छ । श्री सुना देवी माद्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

“विद्यार्थीको चाप बढ्दै गएको छ तर विद्यार्थी अनुसार विद्यालयमा शिक्षक दरबन्दी छैन, प्रमुख खड्काले भन्नुभयो, निजी स्रोतबाट शिक्षक राख्दा विद्यालयलाई आर्थिक भार परेको छ, यसको लागि चाल्नुपर्ने कदम म चाल्ने छु ।” शिक्षामा पहुँच पुगोस् भन्ने उद्देश्यका साथ नगरपालिका लागी परेको र प्रत्येक वर्ष शिक्षामा सुधार गर्दै जाने उहाँले बताउनुभयो ।
गुणस्तरीय शिक्षा आजको आवश्यकता, शैक्षिक गुणस्तर विकासमा हामी सबैको प्रतिबद्धता भन्ने मूल नाराका साथ विद्यालयको ६२ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम मङ्गलवार सम्पन्न भएको छ ।
