
डोटी : राष्ट्रिय मुक्त हलिया समाज नेपाल सिलगढीले शिखर नगरपालिकालाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । मुक्त हलियाको अवस्था विश्लेषण सहित तत्कालीन मुक्त हलियाका माग र सवाल सम्बोधन गर्न भन्दै बिहीबार नगर प्रमुख दीर्घ बहादुर बलायरलाई ९ बुँदे ज्ञापन हस्तान्तरण गरिएको हो । हलियाका माग सम्बोधन गर्न नगरपालिका सकारात्मक रहेको ज्ञापन पत्र बुझ्दै नगर प्रमुख बलायरले भन्नुभयो । उहाँले राष्ट्रिय मुक्त हलिया समाज नेपाललाइ हलियाको तथ्याङ्क नगरपालिकालाई उपलब्ध गराउन आग्रह गर्नुभयो । सो तथ्याङ्कलाई अध्ययन गरेर कार्य अगाडी बढाउने उहाँको भनाई थियो ।
यस्तै राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीले आजै सायल गाउँपालिकालाई पनि ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । सम विकास केन्द्र नेपालको सहकार्यमा गाउँपालिकाका उपाध्यक्ष, गाउँपालिकाका प्रवक्ता नवराज उपाध्याय निर्मला बोहरा ओली र कार्यपालिका सदस्य डम्मर बहादुर बिक ज्ञापन बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै उपाध्यक्ष ओलीले मुक्त हलिया पुनर्स्थापनाको लागि कार्यविधि निर्माण गर्ने र उचित गाँस बासको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मुक्त हलियाको बास, गाँस, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्था गरी पुनर्स्थापना कार्यलाई तत्काल लागू गर्नु पर्ने राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटीको माग छ । हलियाका लगत लिन पालिका स्तरिय निर्णय गरी तत्काल मुक्त हलियाको तथ्याङ्क सङ्कलन गर्नुपर्ने, परिचय पत्र नपाएका घर परिवारलाई परिचय पत्र दिनुपर्ने, बर्सो देखी एक स्थान र धरमा बसेका मुक्त हलियालाई लालपुर्जा उपलब्ध गराउन पहल गरी भूमिमा स्वामित्व स्थापित गर्नुपर्ने, बालबालिकाहरूलाई उच्च तथा प्राविधिक शिक्षाका लागी छात्रवृत्तिको व्यवस्था गर्नु पर्ने लगायतका ९ बुँदे माग उनीहरूले राखेका छन् । बुधवार राष्ट्रिय मुक्त हलिया समाज नेपाल डोटी दिपायल सिलगढी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।
