शिखरमा तथ्यमा आधारित वकालत अभियान सम्बन्धी एक दिने तालिम

डोटी : शिखर नगरपालिकामा तथ्यमा आधारित वकालत अभियान सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । इएलसिए र लुथरन फेडेरेसन नेपालको सहयोगमा उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च डोटी (युएसएसबिएम) को साहस–२ परियोजना अन्तरगत बिहीबार नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको हो । मुक्त हलिया तथा आन्तरिक विस्थापित समुदायको आर्थिक तथा सामाजिक अधिकार प्रबद्र्धका लागि प्रयास परियोजना २ अन्तरगत शिखर नगरपालिकामा युएसएसबिएमले विभिन्न कार्य गरिरहेको छ । तालिममा कानुन व्यवसायी लब देव भट्टले मुक्त हलिया र उनीहरूको अवस्थाको बारेमा जानकारी गराउनुभयो ।
डोटी जिल्लामा एक हजार ३ सय ३५ मुक्त हलिया प्रमाणीकरण भएकोमा एक हजार दुई सय १० जनाले परिचयपत्र पाएका छन् । जसमा एक हजार एक सय २३ जना मुक्त हलिया पुनर्स्थापना भएका छन् । २ सय १५ जनालाई जग्गा खरिद, २ सय ९८ जनाको घर निर्माण र ८ सय २५ जनाको घर मर्मत गरिएको छ । परिचय पत्र पाएका ८७ जनाले कुनै पनि रकम पाएका छैनन् भने  २ सय ६४ जनाले दोस्रो किस्ता बापतको रकम पाएका छैनन् । ५५ जनाको लगत कट्टा गरिएको छ ।
हलियाका बिचौलियालाई पहिचान गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले बताउनुभयो । हलियाका नाममा धेरैले राजनीति गरेको र हलियालाई प्रयोग मात्रै गरेकाले तिनीहरूलाई चिन्न आवश्यक रहेको उहाँले बताउनुभयो । पत्रकारिता पेसामा हुँदा देखी हलियाका मुद्दाको बारेमा जानकार भएकाले उनीहरूका समस्या समाधान गर्न सकारात्मक रहेको नगर उपप्रमुख सुनिता रावलले बताउनुभयो । परिचय पत्र पाउनु पर्ने तर छुटेका हलियालाई परिचय पत्र दिलाउन सङ्घसंस्था र स्थानीय सरकार एक ठाउँमा उभिनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रमको समापन गर्दै युएसएसबिएम डोटीका अध्यक्ष टिका सीँ नेपालीले नगरपालिकालाई मुक्त हलियाका समस्या समाधान गर्नका लागि एउटा नीति बनाउन अनुरोध गर्नु भयो । नगरपालिकाले बनाएको नीति बमोजिम विभिन्न संघसस्थालाई कार्य गर्न सजिलो हुने उहाँको धारण थियो । शिखरका ११ वडा मध्ये ५ वडामा रहेका मुक्त हलियाको तथ्याङ्क सङ्कलन गरिएको भए पनि अन्य ६ वडाको बाँकी रहेकाले त्यो काम गरिदिन पनि उहाँले नगरपालिकालाई अनुरोध गर्नुभयो ।
तालिममा नगर प्रमुख दीर्घ बहादुर बलायर, उपप्रमुख सुनिता रावल, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, युएसएसबिएम संस्थाका अध्यक्ष तथा कर्मचारी, हलियाका अगुवा नेता लगायतको सहभागिता थियो ।
   
Sayalb
Shaileshwori
Loading...