
डोटी : बागेश्वरी असल शासन क्लब(बास) डोटी शाखाले डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्का र जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहलाई टोपी हस्तान्तरण गरेको छ ।
राष्ट्रिय टोपी दिवसको अवसरमा राष्ट्रिय पोसाकको संरक्षण र नियमित प्रयोग गर्न आम नागरिक तयार हुन भन्ने हेतुले साङ्केतिक रूपमा जिल्लाका सरोकारवाला निकायहरूलाई टोपी हस्तान्तरण गरेको बास डोटी शाखाका अध्यक्ष गणेश मौनीले बताए । विदेशी संस्कृतिको प्रभावले नेपाली कला, संस्कृति ऐतिहासिक भेसभुसा लोभ हुँदै गएको नेपालीको पहिचानलाई कायम राख्न नेपाली पोसाकको संरक्षण गर्न आवश्यक रहेको समेत अध्यक्ष मौनीले बताए ।
राष्ट्रिय पोसाकको नियमित प्रयोग र जर्गेना गर्नु आम नागरिकको कर्तव्य रहेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । नेपालीको पहिचान दिने विभिन्न सामाग्री मध्य नेपाली टोपी पनि एक रहेकोले आवश्यकता अनुसार यसको प्रयोग गर्नुपर्छ राष्ट्र र राष्ट्रियता प्रतिको भाव जगाउनु पर्छ । देश विदेश जुनसुकै ठाउँमा जाँदा राष्ट्रिय पोसाकले गर्दा नेपालीको पहिचान हुने गरेको दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजी सिंह खड्काले बताए । उनले भने आम नागरिक राष्ट्र र राष्ट्रियता प्रति कर्तव्य निष्ठ हुनुपर्छ जब हामी राष्ट्र प्रति बफादार हुँदैनौ तबसम्म हाम्रो पहिचान हुँदैन त्यसैले हाम्रो पहिचान जोगाउन राष्ट्रिय पोसाकको संरक्षण प्रवर्द्धन गर्न आवश्यक रहेको बताए ।

हामी नेपालीको पहिचान भनेको राष्ट्रिय पोसाक रहेकोले यसको संरक्षण, नियमित प्रयोग गर्न तर्फ सबैको ध्यान जान आवश्यक रहेको जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । उनले भने नेपाली टोपी भनेको हाम्रो शान हो हामी जुनसुकै देशमा गएपनी नेपाली पोशाले नेपाली पन देखिने भएकोले यसको संरक्षण गर्न आम नागरिकको दायित्व रहको बताए । लुम्बिनी प्रदेशको बाँके जिल्लामा केन्द्रीय कार्यालय रहेको बासले सुशासन, पारदर्शिता र जबाफदेहिताको क्षेत्रमा लामो समय देखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
बासले पछिल्लो समयमा युवा सशक्तीकरण, महिला, बालबालिकाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरू गर्नुका साथै जिल्लाका विभिन्न सवालहरूमा सरोकारवाला निकायहरूलाई खबरदारी समेत गरिरहेको छ । राष्ट्रिय टोपी दिवसको अवसरमा डोटी शाखाले आयोजना गरेको कार्यक्रममा बास सँग आबद्ध ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो ।
