

गणेश मौनी
पुस २०, डोटी
श्री नम्बर ५ बाहिनी अड्डा दिपायलमा सञ्चालन भएको सि.सं. १४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज (दीक्षान्त समारोह) बुधवार सम्पन्न भएको छ । श्री नम्बर ५ बाहिनी अड्डा दिपायलका बाहिनी पती सहायक रथी दिपेशजंग शाहको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका बाहिनी पती सहायक रथी दिपेशजंग शाहले तालिम सफलतापूर्वक सम्पन्न गरी सिपाही दर्जामा नियुक्त हुने सैन्यहरूलाई बधाई तथा शुभकामना दिनुका साथै तालिम टोलीद्वारा प्रदर्शन गरिएको कवाजको निरीक्षण समेत गरेका थिए । दीक्षान्त समारोहलाई सम्बोधन बाहीनीपती सहायक रथी शाहले राष्ट्रिय अन्तर्राष्ट्रिय गौरवमय इतिहास बोकेको नेपाली सेनाले जहिले पनि राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय एकताको पक्षमा काम गर्नुपर्ने बताए ।

उनले भने राष्ट्रको मेरुदण्ड भनेको नेपाली सेना हो, सेनाको मेरुदण्ड भनेको तालिम प्राप्त सिपाही हो त्यसैले नेपाली सेनाले जहिले पनि राज्य प्रति बफादार भई नेपाली सेनाको मूल्य मान्यतालाई आत्मसाथ गरी नेपाली सेनाको छवि उच्च राख्न सदैव तयार हुनुपर्ने बताए । कार्यक्रममा विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कृत समेत गरिएको थियो । श्री नम्बर ५ बाहिनी अड्डा दिपायलबाट ९३ जना सिपाहीहरू दीक्षित भएका थिए ।
नौ महिने समयावधिको सैन्य आधारभूत तालिम पूरा गरेका सिपाहीहरू अब नयाँ नियुक्ति लिई विभिन्न युनिहरुमा खटिने श्री नम्बर ५ बाहिनी अड्डा दिपायलले जनाएको छ । दीक्षान्त समारोहमा बाहिनी अन्तर्गतका अधिकृतहरू, डोटी जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय र दीक्षित भएका सिपाहीहरूका परिवार तथा आफन्तहरूको सहभागिता रहेको समेत श्री नम्बर ५ बाहिनी अड्डा दिपायलले जनाएको छ ।

