
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ६ गगुडामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बोगटान फुड्सिल गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गगुडा स्वास्थ्य चौकीमा सोमवार गाउँ घर चिकित्सा कार्यक्रम अन्तरगत १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा गर्भवती महिलाहरूको भिडियो एक्स-रे, पाठेघरको मुखको क्यान्सरको जाँच तथा जनरल ओपिडी सेवा प्रदान गरिएको गगुडा स्वास्थ्य चौकीका सिनियर अ.हे.व शिशिर बोगटीले जानकारी दिनुभयो । १९ जना गर्भवती सहित ५० जनाको भिडियो एक्स-रे, १९ जनाको पाठेघर को मुखको क्यान्सरको परीक्षण गरेर दुई सय जनाले सेवा लिएको बोगटीले बताउनुभयो । सेवा लिनेहरूमा ४० जना ज्येष्ठ नागरिक रहेका छन् । शिविरमा बोगटान फुड्सिल गाउँपालिकाका डाक्टर सञ्जित कुमार यादव, अ.न.मी सुस्मा नेपाली, बबिता बिथाडिले सेवा दिनु भएको छ ।
डाक्टरबाट घरदैलोमा स्वास्थ्य सेवा पाउँदा सेवाग्राहीहरूले खुसी व्यक्त गरेका छन् । गाउँपालिकाको गत वर्ष देखीको गाउँ घर चिकित्सा कार्यक्रम यो वर्षमा पनि निरन्तरता दिएको स्वास्थ्य संयोजक प्रेम बहादुर बोगटी बताउनुभयो । धेरै जसो नागरिक रोग लुकाएर बस्ने र पछि गम्भीर भएपछि मात्रै उपचारमा जाने जसले गर्दा उपचारमा ठुलो खर्च लाग्नुका साथै ज्यानै समेत जाने समस्याको समाधानको लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
