
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । मङ्गलवार भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभयो । बैठकमा २७० सांसद उपस्थित रहेका थिए । प्रधानमन्त्री प्रचण्डले सांसदबाट बहुमतका साथ विश्वासको मत प्राप्त गरेको प्रतिनिधिसभामा ज्येष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरिरहनुभएका पशुपति शमशेर जबराले घोषणा गर्नुभयो ।
प्रधानमन्त्रीलाई सत्ता गठबन्धनका सबै दल सहित काँग्रेस, जसपा, लोसपा लगायतले विश्वासको मत दिएका छन् । प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको विपक्षमा भने दुई मत परेको थियो । मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाई मत दिनुभएन ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यस्तै सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

संसदमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित भएपछि ८८ सांसद छन्। नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपाका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी ४/४, राष्ट्रिय जनमोर्चा र नेमकिपा एक/एक र तीन स्वतन्त्र सांसद रहेका छन्।
