डोटी : डोटी जिल्लामा पनि माघी पर्वको चहलपहल बढेको छ । यहाँका बजारहरुमा तिहारका लागि सरसामान किन्नेको भिड लागेको छ । बजारमा तरुल, पिडालु सखरखण्ड लगायत माछा, मासु र फलफुल तथा भान्सामा प्रयोग हुने सरसामान किन्नेको भिड देख्न सकिन्छ । जिल्लाकै प्रमुख व्यापारी केन्द्र पिपल्ला, दिपायल, राजपुर, सिलगढी, बुडर, गैरा, विपीनगर लगायतका स्थानिय बजारमा माघीको चहलपहल निकै बढेको छ ।
माघि पर्व थारु समुदायका लागि एक महत्वपुर्ण पर्व हो । माघी उनीहरुको सबैभन्दा ठूलो पर्वका साथै नयाँ वर्ष पनि हो । भोलि माघ १ गतेबाट थारु सम्वत २६४६ सुरु हुने थारु अगुवाले बताएका छन् । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन आज घर घरमा सुँगुर काट्ने चलन छ, जसलाई ’जिता मरना दिन’ भनिन्छ ।
पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछा लगायतको परिकार बनाएर खाने र रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ । माघ १ गते माघी पर्वको दिन विहानै नदी, तलाउ, पोखरीमा नुहाउने, पुर्खा, मान्यजनबाट आशिर्वाद लिने गरिन्छ।
पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने गरिन्छ । यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिन्छ । यस दिन भल्मन्सा चुन्ने काम गरिन्छ । माघीको दिन ढिक्री, मासु, तरुललगायतका परिकार खाने चलन थारु समुदायमा रहेको छ ।
माघीमा आफ्नो चेलीबेटीहरूलाई मिठो खाने कुरा सहित उपहार दिने चलन पनि रहेको छ । यसलाई थारू भाषामा ’निसराउ’ र पहाडी समुदायमा ‘माघे त्यार’ भनिन्छ । पर्वकै दिन छोरीबेटीलाई उपहार दिन नभ्याएमा माघ महिनाभर दिन सकिने स्थानियको भनाई छ ।
किरण धामी मुलुक न्युज डटकमका डेस्क सम्पादक हुन, उनी समसामयिक विषयमा कलम चलाउँछन् ।
- Facebook Comments
- Comments