
मोहन ठकुल्ला, डोटी
सम विकास केन्द्र (इडिसी) डोटीको परिवर्तन परियोजना अन्तर्गत जिल्ला स्तरीय कार्यक्रम समापन भएको छ । शनिवार युरोपियन युनियन, डिसिएको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको सहकार्यमा जिल्ला स्तरीय परियोजनाको सिकाइ तथा अनुभव आदान प्रदान कार्यक्रम दिपायल सिलगढीको सभा हलमा सम्पन्न भएको हो । परिवर्तन परियोजना अन्तर्गत जिल्लाका ३ वटा स्थानीय तह जोरायल गाउँपालिका, शिखर नगरपालिका र के.आई.सिंह गाउँपालिकामा सुशासन पाठशाला सञ्चालन गरेको कार्यक्रम संयोजक महेश परियारले बताउनुभयो । नागरिक समाजको विकास गर्न, लक्षित वर्गहरूका माग पूरा गरी सक्षम बनाउन, जनसहभागिता, पारदर्शिता, महिलाहरूका हक अधिकार सुनिश्चितका साथ लागू गर्न पाठशालाले भूमिका खेलेको उहाँको भनाई छ ।

महिलाहरूका आवाज उठाउँदै जिल्लाका विभिन्न क्षेत्रमा सहभागीमूलक, योजना तर्जुमा प्रक्रिया, सशक्तीकरण, नागरिकका सवालमा काम गर्दै आएको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए । पाठशालाले क्षमता विकासमा ठुलो सहयोग गरेको सहभागी सदस्य शिखर नगरपालिका १ कि बिना रावलले बताउनुभयो । विद्यालयको शिक्षा लिन नपाएको भए पनि पाठशालाबाट व्यावहारिक शिक्षा प्राप्त गरेको उहाँले बताउनुभयो ।
के.आई.सिंह गाउँपालिका ४ की जानकी विक अहिले वडा सदस्य हुनुहुन्छ । पाठशालाबाट प्राप्त भएको नेतृत्व विकासले सदस्यको जिम्मेवारी सम्हाल्न सकेको उहाँको भनाई छ । सुशासन पाठशालाको प्रभाव शिक्षा क्षेत्रमा पनि त्यत्तिकै परेको छ । जोरायल गाउँपालिकाकी २९ वर्षिया मङ्गला बिक र ३४ वर्षीया ममता बिक विद्यालय जान थाल्नुभएको छ । उहाँहरु छोराछोरीसँगै स्कुल जाने गरेको सामाजिक परिचालक तारा विकले बताउनुभयो ।
