
डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिकामा बस सञ्चालनमा आउने भएको छ । सहजपुर, बोगटान, दिपायल सडक अन्तर्गत विपिनगर बागछेडा हुँदै छिडिखानसम्म बस सञ्चालनका लागि सडक फराकिलो बनाउन सुरु गरिएको छ ।

बडिकेदार गाउँपालिका सम्म मात्रै सञ्चालनमा रहेको बस सेवालाई बोगटान फुड्सिल गाउँपालिकासम्म सञ्चालनमा ल्याउनका लागि सडक सरसफाइ र मोड चौडा पार्ने कार्यको सुरुवात गरिएको गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले जानकारी दिनुभयो । बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको संयुक्त सहकार्यमा सडक सरसफाइ र मोड चौडा बनाउने कार्यको सुरुवात गरिएको हो ।
हाल वडा नम्बर १ छिडिखानलाई बस सेवासँग जोड्नको लागि काम सुरु गरिएकाले चाँडै बस सञ्चालनमा आउने अध्यक्ष गडसिलाले बताउनुभयो । क्रमशः गाउँपालिका केन्द्रसम्म बस पुर्याउने उहाँको भनाई छ । बस सेवाबाट सञ्चालनमा आएमा यस क्षेत्रका महँगो गाडी भाडा तिरेर जिपमा कष्टकर यात्रा गरिरहेका नागरिक लाभान्वित हुने छन् ।
