
सिलगढी : डोटीको सायल गाउँपालिकामा उद्यमीहरुलाई व्यवसाय परामर्श सम्बन्धि एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सनिबार वडा नम्बर ६ मेल्लेकमा कोभिड प्रभावित, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका ४७ जनाका लागि एक दिने कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । डिफ्याट र लुथरन विश्व फेडरेसन नेपालको आर्थिक सहयोग तथा उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च (युएसएसविएम) डोटीको आयोजनामा गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीमा सायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक बहादुर साउदले व्यवसायीहरुलाई दर्ता प्रक्रियामा सहयोग गरी व्यवसाय सञ्चालनका लागि सहयोग गर्न सकिने बताउनु भयो ।सायल गाउँपालिका कार्यपालिका सदस्य राजु देवी कटुवालले महिलाहरु आयआर्जन तर्फ लागिरहेकाले निरन्तर रुपमा व्यवसाय सञ्चालन गरी आत्मनिर्भर हुन आग्रह गर्नुभयो ।
कोभिड-१९ प्रभावित ४७ जनालाई गत वर्ष संस्थाले व्यवसाय स्थापना गर्नका लागि सहयोग गरेको उपेक्षित समुदाय सशक्तिकरण तथा विकास मञ्च डोटीका जीविकोपार्जन सहजकर्ता गणेश बहादुर कोलीले बताए । सायलमा ३५ जनाले बाख्रापालन, ५ जनाले सिलाई कटाई, ४ जनाले किराना पसल, २ जनाले आरन र १ जनाले कुखुरापालन व्यवसाय सञ्चालन गर्दै आएका छन ।
