
गणेश मौनी
माघ २१ डोटी
डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ मा बाल विवाह,लैङ्गिक हिंसा न्यूनीकरण र छाउपडी प्रथा अन्त्यको लागि समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको सहयोगमा जोरायल गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा समुदाय स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको जोरायल गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताइन् ।

उनले भनीन हाम्रो मुख्य ध्येय भनेको बालविवाह र छाउपडी प्रथालाई पूर्ण रूपमा अन्त्य गर्ने हो । कार्यक्रममा बाल विवाह,लैङ्गिक हिंसा,छाउपडी प्रथा, हाम्रो समाजमा रहेका सामाजिक कुरुतिहरुको बारेमा छलफल हुनुका साथै कुरुतीहरुको न्यूनीकरणका लागि गर्न सकिने उपायहरूको बारेमा समेत छलफल गरिएको उपाध्यक्ष बोहराले बताइन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले हाम्रो समाजमा सामाजिक कुरुतीको रूपमा रहेका विभिन्न परम्पराहरूलाई अन्त्य गर्न सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो सामाजिक मूल्य मान्यता, संस्कृतिमा हाम्रो सभ्यता झल्किन्छ त्यसैले बाल विवाह, छाउपडी प्रथा जस्ता कुरुतीको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।
जोरायल गाउँपालिका वडा नम्बर ४ को नख्खु र गोल्ला काफलीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा जोरायल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका कर्मचारी, नेपाल प्रहरी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।
