
डोटी : भैरव प्रसाद गण सिलगढीले सेना दिवस विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । गणले दिवसको पुर्वसन्ध्यामा विभिन्न कार्यक्रमको आयोजना गरिने बुधवार पत्रकारसँग गरेको भेटघाट कार्यक्रममा जानकारी गराएको हो । यही माघ २७ गते देखि फागुन ६ गतेसम्म विभिन्न कार्यक्रम गर्न लागेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत बहादुर कार्कीले बताउनुभयो ।
माघ २७ गते सिलगढी स्थित टुडीखेलमा लोक नृत्य कार्यक्रमको आयोजना हुने छ । अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा ६ देखि १० कक्षा सम्ममा अध्ययनरत विद्यार्थीले दुई वा दुई भन्दा बढीको सामुहिक नृत्य प्रस्तुत गर्नुपर्ने छ । सोही दिन डोटेली कला तथा संस्कृति झल्किने पुतला, भुवा, छलिया, हुड्केली लगायतका विभिन्न प्रस्तुति रहने पनि गणपति कार्कीले बताउनुभयो ।
साथै पृथ्वीनारायण शाहको शासन काल देखि हालसम्म सेनाले प्रयोग गरिरहेका पोसाक प्रदर्शन, विपद्का बेला प्रयोग गरिने सामग्रीको जानकारी , नेपाली सेना सम्बन्धी फोटो तथा दृश्य सामग्री पनि प्रदर्शनी गरिने छन् ।

अन्तर विद्यालय स्तरीय नृत्य प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद १५ हजार, द्धितियले १० हजार र तृतीयले पाँच हजार सहित प्रमाण पत्र पाउने छन् । प्रतियोगितामा सहभागी हरेक विद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरिने छ ।
त्यस्तै फागुन २ गते नेपाली सेनाले गरेको वृक्षारोपण संरक्षण, फागुन ५ गते जिल्ला स्थित कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख लगायतको सहभागितामा उडिलोता देखि शैलेश्वरी मन्दिर सम्म म्याराथन दौड र फागुन ६ गते सेना दिवसको दिन नेपाली सेनाले काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष कार्यक्रमको प्रत्यक्ष लाइभ दिपायलमा समेत हेर्ने व्यवस्था गरिने भैरव प्रसाद गणले जनाएको छ ।
