
गणेश मौनी
माघ २५, डोटी
समान पहुँच विकास केन्द्र डोटीले डोटीमा ३ हजार ९ सय ८८ जना बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको सहयोगमा समान पहुँच विकास केन्द्रले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्विचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका कार्यक्षेत्रमा दर्ता गरिएका आर सी बालबालिकाहरूलाई शैक्षिक सामाग्री सहयोग गरिएको समान पहुँच विकास केन्द्र डोटीका बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना संयोजक सुनिल जोशीले बताउनु भयो ।
बालबालिकालाई अध्ययन प्रति रुचि र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहज होस भन्ने हेतुले दर्ता गरिएका आर सी बालबालिका हरूलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै अभिभावक र बालबालिकाहरूलाई बालविवाह न्यूनीकरण सम्बन्धी जानकारी गराइएको समेत संयोजक जोशीले बताउनु भयो ।
डोटीको आदर्श गाउँपालिकाका १ हजार ४ सय ९७ जना, सायल गाउँपालिकाका ७ सय ४४ जना, दिपायल सिलगढी नगरपालिकाका ६ सय जना, पुर्विचौकी गाउँपालिकाका ११ सय ४७ जना गरी ३ हजार ९ सय ८८ जनालाई गरी २९ लाख ५२ हजार ८ सय ६१ रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ । जसमा कक्षा ४ देखी माथिका बिद्यार्थिहरुलाई कापी, डडपेन वितरण गरिएको थियो भने ३ कक्षा भन्दा मुनिका बिद्यार्थिहरुलाई कापी, पेन्सिल, ईरेजर, पेन्सिल कटर वितरण गरिएको र कलर पेन्सिल सिई डब्ल्यु कार्यक्रम सञ्चालन गर्ने समयमा वितरण गरिने योजना रहेको समेत संस्थाले जनाएको छ ।
