
डोटी : डोटी चेम्बर अफ कमर्सले डोटीमा महोत्सवको आयोजना गर्ने भएको छ । यही फागुन ४ गतेदेखि १४ गतेसम्म दिपायल सिलगढी नगरपालिकाको दिपायल मठ क्षेत्रमा डोटी प्रादेशिक महोत्सव २०७९ आयोजना गर्न लागिएको हो ।
सोमवार दिपायलको वर्षा होटेलमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाले महोत्सव बारे जानकारी गराएको छ । डोटीमा पर्यटकको आगमन बढाउन तथा स्थानीय उत्पादन, रहन सहन र संस्कृति जगेर्नामा टेवा पुगोस् भन्ने हेतुले महोत्सवको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष खगेन्द्र साउँद केवीले बताउनुभयो ।ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको संस्कृति प्रस्तुतिका साथै डोटीका स्थानीय संस्कृतिमूलक कला संस्कृति झाँकी प्रस्तुत गरिने अध्यक्ष साउदले बताउनुभयो ।

महोत्सवमा करिब ५० वटा स्टलहरू राखिने संस्थाका सचिव तथा प्रचारप्रसार संयोजक तेज डुम्रेलले बताउनुभयो । स्टलहरूका लागी नवीनतम विधिको प्रयोग गर्दै एक परिकार एक स्टल नीति लिएको उहाँको भनाइ छ । महोत्सव स्थल भित्र रहने कलाकार दर्शकहरूको बिमा, स्टलहरूको बिमा, उक्त क्षेत्रमा रहने सामाग्रीहरूको समेत बिमा सम्झौता गरिएको बताइएको छ ।
महोत्सव सञ्चालनका क्रममा करिब ४० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रति टिकट रु एक सय निर्धारण गरिएको छ । विद्यार्थिहरुको लागि रु ७० र सिजनल पासको लागि रु सात सय निर्धारण गरिएको छ । त्यस्तै पत्रकारहरूका लागी निःशुल्क पासको व्यवस्था गरिने भएको छ ।
