
डोटी : बिहीबार उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठ डोटी आउँदै छन् । फागुन ४ देखि १४ गतेसम्म दिपायलमा आयोजना हुन लागेको डोटी प्रादेशिक महोत्सवको उद्घाटन गर्न मन्त्री श्रेष्ठ डोटी आउन लागेको हुन ।
मन्त्री श्रेष्ठले दिउँसो २ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक डोटी चेम्बर अफ कमर्सले जनाएको छ । महोत्सव उद्घाटन पछि मन्त्री श्रेष्ठले डोटीका विभिन्न राजनीतिक दलसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

उनले सुदूरपश्चिम प्रदेशको रणनीतिक उत्तर दक्षिण जोड्ने राजमार्ग धनगढी-खुटिया-दिपायल हुँदै चैनपुर बझाङ देखी उरे भन्ज्याङ जोड्ने सडक लगायतका महत्त्वपूर्ण योजना निर्माणका बारेमा सम्बोधन गर्ने सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीले बताए । चालू वर्षमा बजेट विनियोजन नभएको कारण काम रोकिएको सो योजनालाई गति दिन मन्त्री श्रेष्ठले पहल गर्नेमा आशावादी रहेको संसद् ओलीले बताए ।
यता महोत्सवको सम्पूर्ण तयारी पूरा भएको चेम्बरका सचिव तेज डुम्रेलले बताएका छन् । विगतका महोत्सवबाट पाठ सिक्दै आयोजना हुन लागेको महोत्सव व्यवस्थित पार्न भरपुर कोसिसमा संस्था जुटेको उनले बताए ।
