
गणेश मौनी
फागुन १२, डोटी
बहुपक्षित सरोकारवालाहरू सँगको समन्वय बैठक डोटीमा शुक्रवार सम्पन्न भएको छ । बहुसास्कृतीक मनोसामाजिक संस्था (टिपीओ) नेपालले युनिसेफ नेपालको सहयोग र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा मनोसामाजिक सहयोग कार्यक्रमलाई विभिन्न सवालहरूमा समाहित गर्न समन्वय बैठकको आयोजना गरेको थियो ।
मनोसामाजिक सवाल आम नागरिकका लागि अति आवश्यक रहेको बहुसास्कृतीक मनोसामाजिक संस्था नेपाल(टिपीओ)का कार्यक्रम विभाग प्रमुख पीताम्बर कोइरालाले बताए । उनले भने मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्न नगरपालिकाले पनि आवश्यक पहल चाल्नुपर्छ ।

दिपायल सिलगढी नगरपालिका भित्र मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न बहुसास्कृतीक मनोसामाजिक संस्था (टिपीओ) नेपाल सँगको समन्वय र सहकार्यमा नगरपालिकाले आवश्यकता अनुसार बजेटको व्यवस्थापन गरी कार्यक्रम अगाडी बढाइने दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बताए ।
बहुसास्कृतीक मनोसामाजिक संस्था (टिपीओ) नेपालले नगर प्रमुख खड्कालाई मानसिक स्वास्थ्यको क्षेत्रमा नगरपालिकाले गर्न सक्ने प्रस्तावित कार्यक्रम तथा बजेटहरू हस्तान्तरण गरेको हो
समन्वय बैठकमा बोल्ने अधिकांश सहभागीहरूले मनोसामाजिक सवाललाई क्रस कटिङ सवालको रूपमा अगाडी बढाउनु पर्ने, स्थानीय सरकारले यस क्षेत्रको लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्ने, विद्यालय, समुदाय तहमा विशेष प्राथमिकता दिनुपर्ने लगायतका सुझावहरू दिएका थिए ।
सिलगढीमा आयोजना गरेको कार्यक्रममा स्थानीय तहका प्रमुख प्रतिनिधि, वडा अध्यक्ष, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, नागरिक समाज, पत्रकार, टिपीओ नेपालका कार्यक्रम विभाग प्रमुख पीताम्बर कोइराला, कार्यक्रम संयोजक फणीन्द्र अधिकारी, कार्यक्रम अधिकृत जितेन राई, मनोबिमर्शकर्ता सिता गिरी लगाएको सहभागिता रहेको थियो ।
