
डोटी : डोटी दिपायलमा रहेको एक होटेलमा आगलागी भएको छ । शुक्रवार जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजार दिपायलमा रहेको मनकामना होटेलमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाका चेतन खड्काले सञ्चालन गरेको होटेलमा खाना पकाउने क्रममा भान्साबाट आगलागी भएको हो ।

साँझ ६:३५ बजे सल्किएको आगो स्थानीयको सहयोगमा ७:१० बजे नियन्त्रणमा आएको प्रहरीले बताएको छ । आगो नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी नायव निरीक्षकको कमान्डमा २१ जना प्रहरी टोली र ९ जना सशस्त्र प्रहरी गरी ३० जना प्रहरी खटिएका थिए । आगलागीबाट होटेलको भान्सा कोठा र काउन्टरमा क्षति भएको छ । थप विवरण आउन भने बाँकी छ ।
यसैबिच स्थानीयले दमकल तोडफोड गर्ने प्रयास गरेका छन् । आगो नियन्त्रणमा आइसकेपछि दमकल घटना स्थलमा पुगेको भन्दै आक्रोशित स्थानीयले दिपायल सिलगढी नगरपालिकाको दमकल तोडफोडको प्रयास गरेका हुन् । स्थानीयले तोडफोडको प्रयास गरेपछि प्रहरीको सुरक्षामा दमकल सिलगढी फिर्ता पठाइएको थियो । आगलागी भएको बेला दमकल नगरपालिकाको कार्यालय सिलगढीमा रहेको थियो ।
