
सुवास नेपाली, डोटी
डोटी स्थित भैरव प्रसाद गण नेपाली सेनाको व्यवस्थापनमा दोस्रो खप्तड -शैलेश्वरि म्याराथन २०८० प्रतियोगिताको तयारी बैठक सम्पन्न भएको छ। डोटी स्थित भैरव प्रसाद गण तथा नेपाली सेनाको व्यवस्थापनमा डोटी स्थित सरकारी तथा गैरसरकारी सङ्घ तथा संस्थाहरू सँगको पहिलो चरणको बैठक सम्पन्न भएको भैरव प्रसाद गणका गणपति जनमत बहादुर कार्कीले जानकारी दिनुभयो।
भू स्वर्गका उपमाले परिचित खप्तड क्षेत्रमा जेठ १६ गते शुक्ल पक्ष दशमीमा लाग्ने गङ्गा दशहरा मेलालाई लक्षित गर्दै खप्तड शैलेश्वरि खुला म्याराथन प्रतियोगिता ( पुरुष र महिला) लगायत अन्य प्रतियोगिता पनि सञ्चालन गरिने आज बसेको बैठकले निर्णय गरेको छ।जस अनुसार पुरुष, महिला म्याराथन लगायत भलिबल, देउडा, घोडा दौड प्रतियोगिता खप्तडमा सञ्चालन हुने छन्।

धार्मिक तथा पर्यटकीय छटाले सौन्दर्यले भरिपूर्ण खप्तडलाई म्याराथन प्रतियोगिताका माध्यमले देश विदेशमा चिनाउन सो प्रतियोगिताको आयोजना गर्न लागिएको पनि गणपति कार्की ले जानकारी दिनुभयो ।
खप्तड- शैलेश्वरि म्याराथन पुरुष तर्फ सर्वाधिक १ लाख ५० हजार र महिला तर्फ प्रथम हुनेले ५० हजार प्राप्त गर्ने छन्। त्यसै गरी प्रतियोगितामा दोस्रो, तेस्रो लगायत दशौँ स्थान हासिल गर्ने प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ।
यस अघि पनि भैरव प्रसाद गण नेपाली सेनाको व्यवस्थापनमा प्रथम खप्तड-शैलेश्वरि म्याराथन प्रतियोगिता २०७९ सम्पन्न भएको थियो।
आज भएको तयारी बैठकमा भैरव गणका गणपति, दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख बाजि सिंह खडका, उद्योग वाणिज्य सङ्घका अध्यक्ष, होटेल व्यावसायिक सङ्घका प्रतिनिधि ,खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
