
डोटी : धनगढी खुटिया दिपायल चैनपुर हुँदै उरै भन्ज्याङ जोड्ने सडक निर्माणका लागि सरकारले रु. १५ करोड छुट्टाएको छ । बजेट अभावले काम रोकिएको सुदूरपश्चिम प्रदेशको रणनीतिक उत्तर दक्षिण जोड्ने सडक निर्माणको काम अगाडि बढाउन रु १५ करोड व्यवस्थापन गरिएको सुदूरपश्चिम प्रदेश सभा सदस्य शिव सिंह ओलीले बताए ।
`धनगढी-खुटिया-दिपायल-चैनपुर हुँदै उरै भन्ज्याङ सडक योजनामा नेपाल सरकारले तत्काल रोकिएको काम अगाडि बढाउन रु. १५ करोड व्यवस्थापन गरेको छ, प्रदेश सभा सदस्य ओलीले भनेका छन्, त्यसको लागि सम्माननीय प्रधानमन्त्री ज्यु र माननीय उपप्रधान तथा भौतिक मन्त्री ज्यु प्रति हार्दिक धन्यवाद, बाकी थप रकमको लागि पनि पहल भइरहेको ब्यहोरा जानकारी गराउँछु ।´

चालू आर्थिक वर्षमा सरकारले यश आयोजनामा बजेट विनियोजन नगर्दा बजेट अभावमा सडकको निर्माण कार्य रोकिएको छ । निर्माण व्यवसायीले काम गरेको रकम नपाउँदा मजदुरले समेत ज्याला पाउन सकेका छैनन् । आर्थिक वर्ष २०७८/७९ सम्मको सडकको दायित्व रु. ७८ करोड पुगेको छ ।
केही दिन पहिला डोटी पुगेका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले यो सडक योजनालाई प्राथमिकतामा राख्ने बताएका थिए । महोत्सवको उद्घाटन गर्न फागुन ४ गते डोटी पुगेका मन्त्री श्रेष्ठले प्रदेश सभा सदस्य ओलीले सडक बारे काठमाडौँ गएर जानकारी गराएको र डोटी आउँदा सबै राजनीतिक दलले पनि सोही माग राखेकाले सडक निर्माणलाई प्राथमिकता दिने बताएका थिए ।
यो सडकको २०७४/०७५ बाट सरकारले डोटीको बिपिनगरमा आयोजना कार्यालय स्थापना गरी काम अगाडी बढाएको थियो । जम्मा २ सय ९६ किलोमिटर लम्बाइ रहेको यो सडक योजनाको धनगढी देखि दिपायल सम्म ९५ किलोमिटर लम्बाइ रहेको छ । यो सडकलाई हाल सञ्चालनमा रहेको राजमार्गको वैकल्पिक राजमार्गको रूपमा हेरिरहेको छ ।
