
मोहन ठकुल्ला, डोटी
डोटी बहुमुखी क्याम्पस डोटीको स्ववियु निर्वाचनको विषयमा अनेरास्ववियु,अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र अनेरास्ववियु (क्रान्तिकारी) डोटीले संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् । स्ववियुका लागि मतदान भइरहेका बेला स्थिति तनावपूर्ण बनेपछि निर्वाचन समितिले निर्वाचन स्थगित गरेसँगै विभिन्न माग राख्दै चार विद्यार्थी सङ्गठनले संयुक्त प्रेस विज्ञप्ति निकालेका हुन् ।

पक्षपातपूर्ण व्यवहार गर्ने प्राध्यापक तथा अन्य कर्मचारीहरूलाई कारबाही गरी स्थगित स्ववियु निर्वाचन यथाशीघ्र निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न उनीहरूले माग गरेका छन् । निर्वाचन स्थगित गरिएको सूचनामा क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत हर्क कलले प्रयोग गरेको उच्छृङ्खल तत्त्वहरूले भन्ने शब्दको पनि विज्ञप्ति मार्फत आपत्ति जनाइएको छ ।
“नेपाल विद्यार्थी सङ्घलाई विजयी गराउन गरिएको षड्यन्त्र, मतदान प्रक्रियामा क्याम्पस प्रशासन र निर्वाचन समितिको कार्यालयको व्यवहारप्रति हामी चार विद्यार्थी सङ्गठन घोर निन्दा र भर्त्सना प्रकट गर्दछौँ विज्ञप्तिमा भनिएको छ, निर्वाचनका क्रममा भएका सम्पूर्ण घटनाहरूको जिम्मेवारी क्याम्पस र निर्वाचन कार्यालयले लिनुपर्छ । “
