
मित्रराष्ट्र रुस नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गर्न सकारात्मक देखिएको छ । रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको भेटमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।
रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको बताएका हुन् । त्यसका लागि नेपालले मन्त्री परिषदबाट निर्णय गरेर प्रकृया अगाडि बढाउन उनको आग्रह छ ।

अध्यक्ष तिमिल्सिना र उपप्रधानमन्त्री चेर्निसेन्कोबिच भएको भेटमा नेपाल र रुसबीचको सिधा हवाई सेवा सुचारु गर्ने, रुसमा नेपाली विद्यार्थीको शिक्षाको लागि कोटा बढाउने, सबवे, रेलमार्ग, मोटरवे र जलविद्युत आयोजना निर्माणमा पूर्वाधार निर्माणमा सहयोग गर्ने विषयमा पनि छलफल भएको छ ।
भेटवार्तामा नेपाललाई खाद्यान्न, रासायनिक मल, हेलिकप्टर र मोटरसाइकल उपलब्ध गराउने विषयमा छलफल भएको उपप्रधानमन्त्रीको कार्यालयलाई उद्दृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ
