
सरकारले तीन वर्ष अघि देशभरिका सबै घरधुरीमा पूर्ण रूपमा शौचालय बनाई सकेको भन्दै देशलाई खुला दिसामुक्त घोषणा गरेको थियो । २०७६ असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता रहेको बताएका थिए ।
त्यति बेला दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र घोषणा गरिएकोमा गर्व गरिएको थियो । तर त्यसबेला पर्याप्त आधार र तयारीविना गरिएको घोषणा केवल घोषणामा सीमित भएको छ ।

२०७८ को राष्ट्रिय जनगणनाले नेपालमा अझै ४.५ प्रतिशत परिवार शौचालयको पहुँच बाहिर भएको तथ्याङ्क सार्वजनिक गरेको छ । कतिपय ठाउँमा शौचालय बनेको तथ्याङ्क कागजमै सीमित छ ।
देशभरका कुल ६६ लाख ६० हजार ८ सय ४१ परिवारमध्ये ९५.५ प्रतिशत परिवारले मात्र शौचालयको प्रयोग गर्ने गरेका छन्। जसमध्ये ९.८ प्रतिशत परिवारले सार्वजनिक ढलमा जोडिएको, फ्लस भएको, ५५.१ प्रतिशत परिवारले सेफ्टी ट्याङ्कमा जोडिएको फ्लस भएको शौचालय प्रयोग गर्छन् । त्यस्तै, ३०.१ प्रतिशत परिवारले साधारण शौचालय र ०.५ प्रतिशतले सार्वजनिक शौचालय प्रयोग गर्ने गरेका छन्।
२०६८ को जनगणनाअनुसार शौचालयको पहुँच नभएको परिवार ३८.२ प्रतिशत थियो । यसरी १० वर्षको अघिको अन्तरालमा ३३.७ प्रतिशत बढी परिवारले शौचालयको प्रयोग गरेको देखिन्छ। तर, सबै परिवारले पूर्ण रूपमा शौचालय प्रयोग गर्न भने अझै केही वर्ष लाग्ने देखिन्छ।
