
बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीका ३८ बर्षीय वासुदेव जोशीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ । तेश्रो पटक जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
जोशीको हत्या गरेको आरोपमा दोगडाकेदार ८ का मानबहादुर बिष्ट र धनमती भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

वैशाख २ गते साँझ घाँटी रेटेर हत्या गरेको अवस्थामा जोशीको शव फेला परेको थियो । त्यसको भोलिपल्ट प्रहरीले हत्या अभियोगमा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक जोशीले भने,‘वासुदेव हत्या प्रकरणको अनुसन्धान जारी रहेको छ । अभियुक्तहरुमाथि तेश्रो पटक म्याद थपेर अनुसन्धान गरिरहेका हौं ।’
वैशाख ३ गते जिल्ला अदालतबाट पहिलो पटक सात दिनका लागि म्याद थपेर दुवैजनामाथि अनुसन्धान गरेको प्रहरीले दोश्रो पटक १२ दिन म्याद थप गरेर अनुसन्धान गरेको थियो । अभियुक्तमाथिको अनुसन्धान कार्य नसकिएको भन्दै बुधबार थप ८ दिनका लागि म्याद थप भएको छ । हत्या आरोपित दुवैजनामाथि सुक्ष्म तरीकाले अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
मृतक वासुदेवका आफन्तले भने अभियुक्तहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्दै आएका छन् । घाँटी रेटेर विभत्स हत्यामा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने आफन्तजनले माग गरेका छन् । मृतकका दाजु पुष्पराज जोशीले भाइको हत्यामा संलग्नलाई कानुनी कारवाहीमा ढिलो गर्न नहुने बताएका छन् ।
