
मोहन ठकुल्ला, डोटी
डोटीका तिन जना किसान भीमदत्त उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् । मङ्गलवार कृषि निर्देशनालय दिपायल डोटीले जिल्लाको जोरायल गाउँपालिका–३ की आकृति कठायत जोशी, के आई सिंह गाउँपालिका–६ का हरिलाल जैसी र शिखर नगरपालिका–११ का कर्ण बहादुर बलायरलाई पुरस्कृत गरेको हो । आर्थिक वर्ष २०७९/८० मा निवेदन दर्ता गर्ने ८ जना मध्य ३ जना कृषकलाई उत्कृष्ट कृषक छनोट गरिएको हो । पुरस्कारमा प्रति व्यक्ति नगद रु. २५ हजार र प्रमाणपत्र रहेको छ ।
पुरस्कार ग्रहण गर्दै आकृति कठायत जोशीले आफ्नो रुचि कृषि पेसा रहेको बताइन । प्रायको रुचि जागिर गर्ने हुने गरेको बताउँदै तर आफु कृषिमा रमाउन मन पराउने उनले बताइन । किसानको प्रमुख समस्याको रूपमा जङ्गली जनावर रहेका हरिलाल जैशीले बताए । उनले जङ्गली जनावर व्यवस्थापन गर्न सरोकारवालाको ध्यानाकर्षण गराए । अर्का किसान कर्ण बहादुर बलायरले पुरस्कार ग्रहण गर्दै अबको लक्ष जिल्लाकै नमुना कृषक बन्ने रहेको बताए । लामो समय रोजगारीको लागि भारतमा बसेका उनी हाल बाख्रा पालन पेसामा संलग्न छन् । सम्मानित किसानले जिल्लाका अन्य कृषकलाई पनि बाँझो जमिनलाई खेती योग्य बनाउन आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले कृषि क्रान्ति गर्न आवश्यक देखिएको बताए । बाझो जमिनमा खेती गर्न किसानलाई उत्प्रेरित गर्दै सरकारले आवश्यक नीति ल्याउनुपर्ने उनको धारणा छ । कृषि विकास निर्देशनालयका प्रमुख यज्ञ राज जोशीले किसानलाई अनुदानको व्यवस्था रहेको बताए । उनले कृषि क्षेत्रलाई बढवा दिँदा शिक्षा, स्वास्थ्यमा पनि स्वतः सुधार हुने बताए ।

