
डोटी : नेपाल पत्रकार महासङ्घ डोटीले स्थानीय सञ्चार माध्यम प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७९ का सम्बन्धमा स्थानीय सरकारसँग छलफल गरेको छ । महासङ्घले मङ्गलवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा जिल्लाका नौ वटै स्थानीय सरकारका प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग छलफल गरेको हो ।

महासङ्घले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन गर्ने उद्देश्यसाथ डोटीका स्थानीय तहहरूका लागि मस्यौदा बनाएको हो । स्थानीय सञ्चारमाध्यमहरूको सङ्ख्यात्मक र गुणात्मक सुधार भई व्यावसायिक पत्रकारितामा बल पुर्याउने उद्देश्यका साथ कार्यविधि ल्याइएको नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष मोहन शाहीले बताए । उनले स्थानीय सरकारहरूले पनि कार्यविधि कार्यान्वयन गर्न सहयोग गर्नेमा विश्वस्त रहेको बताएका छन् ।
यस कार्यविधिले असार मसान्तमा कामै नगरी अनधिकृत रूपमा भुक्तानी माग दाबी गर्ने प्रवृत्तिको अन्त्य गर्नुका साथै व्यक्तिगत सम्बन्ध, चाकडी, राजनैतिक आस्थाका आधारमा मिडियामाथि हुने विभेदको अन्त्य हुनेछ । त्यस्तै मिडियाका लागि विनियोजित बजेटको अधिंकास रकम जिल्ला बाहिरका मिडियालाई दिइने भुक्तानी पनि नियन्त्रणमा आउने छ ।
