
गणेश मौनी, डोटी
दिपायल सिलगढी नगरपालिकाले नगरपालिका अन्तरगत रहेका सबै वडाहरूमा महिलाहरूका लागि प्रजजन् स्वास्थ्य सम्बन्धी निःशुल्क घुम्ती शिविरको आयोजना गरेको छ । नेपाल परिवार नियोजन सङ्घ डोटी शाखाको प्राविधिक सहयोगमा पालिकाले बिहीबार देखि नगरपालिकाको वडा नम्बर १मा रहेको नगर स्वास्थ्य केन्द्र सिरखोलीसैन बाट शिविरको सुरुवात गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा संयोजक तेज बहादुर खड्काले बताए ।

बिहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविर बाट ६८ जना महिलाहरूले सेवा लिएका छन् जसमा १० जनाले भिडियो एक्सने २२ जनाको आङ खसेका महिलाहरूको उपचार तथा स्क्रिनसङ, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच गरिएको थियो भने अन्यले स्वास्थ्य परीक्षण सेवा लिएका हुन् । सेवा लिएका मध्य ४ जना महिलाहरूको आङ खस्ने समस्या देखिएकाले थप उपचारको लागि जिल्लामा सिफारिस गरिएको समेत स्वास्थ्य संयोजक खड्काले बताए ।
शिविरमा फिष्टुला, आङ खसेका महिलाहरूको उपचार तथा स्क्रिनसङ, पाठेघरको मुखको सम्भावित क्यान्सर सम्बन्धी जाँच, परिवार नियोजनको लामो अवधिको अस्थायी साधन सेवा, यौन रोगको उपचार तथा परामर्श, गर्भवती महिलाहरूका लागि भिडियो एक्सने, महिलाहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण गरिने पालिकाले जनाएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको कार्यपालिका अनुसार जेठ ४ गते नगर स्वास्थ्य केन्द्र सिरखोलीसैन, ५ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र दिपायल, ६ गते लडागडा स्वास्थ्य चौकी, ७ गते तिखा स्वास्थ्य चौकी, ८ गते खातिवडा स्वास्थ्य चौकी, ९ गते नगर स्वास्थ्य केन्द्र बाफी, १० गते नगर स्वास्थ्य केन्द्र नारिदाङ, ११ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र पाकरी, १२ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र बागठाटा र १४ गते कलेना स्वास्थ्य चौकी कलेनामा घुम्ती शिविर सञ्चालन गरिने समेत स्वास्थ्य शाखा संयोजक खड्काले बताए ।
