
डोटी : बडीकेदार गाउँपालिकामा बैङ्कबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता अब देखि वडा बाटै वितरण हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी डोटीले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीले बैङ्कबाट भत्ता लिँदा सास्ती भोग्नुपरेको भन्दै लामो समयदेखि सङ्घर्ष गरिरहेको थियो । यसैबिच आइतवार बडीकेदार गाउँपालिका, सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको प्रभु बैङ्क लिमिटेड बडीकेदार शाखा र नेपाल कम्युनिस्ट पार्टी डोटी बिच भएको त्रिपछीय छलफलमा यस्तो निर्णय गरिएको हो ।

त्रैमासिक रूपमा महिनाको चार दिन सम्म वडा नम्बर ५ को वडा कार्यालय रन्तोला, वडा नम्बर ३ को वडा कार्यालय र तल्लो भेग मुलेचौर, वडा नम्बर ४ को वडा कार्यालयमा र वडा नम्बर १ को वडाध्यक्षले तोकेको ठाउँबाट भत्ता वितरण हुने छ । नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भत्ता बैङ्कबाट वितरण हुन थालेपछि लाभग्राही ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्त, बालबालिका लगायतले सास्ती भोग्नुपरेपछि यस्तो गर्नुपरेको नेपाल कम्युनिस्ट पार्टी डोटीका इन्चार्ज विमल धामीले बताए ।
