
डोटी : बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सोमवार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ को आयोजनामा जोराघाट माद्यामिक विद्यालयमा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले प्रहरी र स्थानीय सरकारबिच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । प्रहरी र स्थानीय सरकारको साझेदारीमा समाजका विद्यमान कुरीति, घरेलु हिंसा तथा हानिकारक परम्पराको अन्त्य गर्नु पर्ने अध्यक्ष गडसिलाले बताउनुभयो । समाजको शान्ति सुरक्षा अमन चयनमा प्रहरीको भूमिका महत्त्वपूर्ण रहने भएकाले समाजका हानिकारक परम्पराको अन्त्य गर्नु पनि प्रहरीको दायित्व रहेको प्रहरी नायव उपरीक्षक युवराज भण्डारीले बताए । समाजका समस्याको पहिचान गरेर ती समस्याको समाधान गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रमले सहयोग गर्ने भण्डारीले बताए ।

घरेलु हिंसा तथा महिला हिंसाले महिलालाइ ठुलो यातना दिने गरेको बोगटान फुड्सिल गाउँपालिकाका उपाध्यक्ष बिस्ना बमले बताइन् । महिलालाई तनाव मुक्त बनाउनु आजको आवश्यकता रहेको बताउँदै उपाध्यक्ष बमले यसको लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताइन् । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीका वडा अध्यक्ष दीप बहादुर बम सभापति रहेको कार्यक्रममा स्थानीय, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका सहभागीले नियम, कानुन र विभिन्न प्रक्रियाको बारेमा जानकारी दिने कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्न आवश्यक रहेको बताएका छन् ।
