
सिलगढी :
डोटीमा लामो समय विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायल बाट वितरण हुँदै आएको विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका हुन् । बुधवार डोटी वितरण केन्द्रमा रहेको कन्ट्रोल प्यानल पड्किदा विद्युत् अवरुद्ध हुन पुगेको हो ।

विद्युत् अवरुद्ध भएको एक दिन भन्दा बढी समय भइसक्दा यहाँका सरकारी कार्यालय, अस्पताल, सञ्चारमाध्यम, उद्योग धन्दाको कामकाजमा समस्या आउनुका साथै व्यवसायी समेत मार्कामा परेका छन् । जिल्ला सदरमुकाम सिलगढी, प्रमुख व्यापारिक केन्द्र दिपायल लगायत पुर्विचौकी, केआइ सिंह, बोगटान फुड्सिल गाउँपालिका र शिखर नगरपालिकाका उपभोक्ताले हैरानी बेहोर्नु परेको छ । प्राधिकरणसँग विकल्पमा अन्य सामग्री नहुँदा ग्राहकले हैरानी खेप्नु परेको हो ।
कतिपय ग्राहक प्राधिकरणले लापरबाही गरेको भन्दै विरोध गरिरहेका छन् । आज साँझ सम्म विद्युत् सुचारु हुने नेपाल विद्युत् प्राधिकरण डोटी वितरण केन्द्र दिपायलका प्रमुख शिव शङ्कर सोनीले बताए । प्राविधिकको टोली हिजै देखि मर्मत कार्यमा जुटेको बताउँदै जति सक्दो चाँडो विद्युत् सुचारु गर्ने प्रयास गरिरहेको उनले बताए ।
