
डोटी : हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगिता अन्तरगत पुरुष तर्फ खडक बहादुर खड्का प्रथम भएका छन् । निर्धारित ४२ किलोमिटरको दुरी २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै खड्का प्रथम भएका हुन् । प्रथम भएसँगै उनले एक लाख २५ हजार नगद पुरस्कार पाउने भएका छन् ।
सोही म्याराथनमा २ घण्टा ३९ मिनेट ४३ सेकेन्डमा ४२ किलोमिटर पार गर्दै नरेन्द्र सिंह रावत द्वितीय र २ घण्टा ४२ मिनेट ४४ सेकेन्डमा उक्त दुरी पार गरेका वीरेन्द्र पाण्डे तृतीय भएका छन् । म्याराथनमा द्वितीय भएका रावतले नगद ८० हजार र तृतीय भएका पाण्डेले नगद ५० हजार पुरस्कार पाउने छन् । खप्तडमा लाग्ने गंगा दशहराको अवसरमा आयोजना गरिएको म्याराथन प्रतियोगिताको दुरी खप्तडबाट सिलगढी टुँडिखेलसम्म ४२ किलोमिटर राखिएको छ ।

आयोजकका अनुसार सान्त्वना हुने सात जनालाई पनि पुरस्कार दिइने छ । सात जनालाई क्रमशः दस हजार, नौ हजार, आठ हजार, सात हजार, छ हजार, पाँच हजार र चार हजार नगद पुरस्कार दिइने छ ।
त्यस्तै महिला हाफ म्याराथनमा त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपाने प्रथम भएकी छन् । न्यौपानेले १ घण्टा १४ मिनेट १८ सेकेन्डमा निर्धारित दूरी २१.५ किलोमिटर पार गर्दै प्रथम भएकी हुन् । त्यस्तै नेपाल पुलिस क्लबकी रेखा बिष्ट द्वितीय र भैरब प्रसाद गणकी सुन्तला कडायत तृतीय भएकी छन् ।
बिष्टले निर्धारित दुरी १ घण्टा २२ मिनेट १० सेकेन्डमा पार गर्दा कडायतले एक घण्टा २६ मिनेट ८ सेकेन्डमा पूरा गरेकी हुन् । महिला हाप म्याराथनमा प्रथम हुनेले नगद ५० हजार, द्वितीयले ३० हजार तृतीयले २० हजार नगद प्राप्त गरेका छन् ।
