
डोटी : नेपाल विद्यालय कर्मचारी परिषद् डोटीले विभिन्न माग राख्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीलाई ज्ञापन पत्र बुझाएको छ । सामुदायिक विद्यालयमा न्यून वेतनमा कार्यरत कर्मचारीहरूको पूर्ण सेवा सुविधा सहित पेसागत स्थायित्वको विषय सरकारको बजेटमा नसमेटिएपछि शुक्रवार ज्ञापन बुझाइएको हो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई डोटीलाई बुझाइएको ज्ञापन पत्रमा विद्यालय कर्मचारीका माग पूरा गर्नुपर्ने, विद्यालयमा दरबन्दी कायम गर्नुपर्ने, शिक्षा ऐन जारी गर्नुपर्ने र ६० वर्ष उमेर पुगेका कर्मचारीको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएका छन् । ज्ञापन पत्र बुझाउनुभन्दा पहिला सिलगढी बजारमा विभिन्न नारा सहित र्याली निकालिएको थियो ।
विद्यालय कर्मचारीले यही जेठ २१ गते देखी २६ गतेसम्म आन्दोलन स्वरूप जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा धर्ना दिएका थिए । विद्यालय कर्मचारी लेखापाल, परिचर लगायतका विषय सरकारको बजेटमा नसमेटिएपछि उनले देशभर आन्दोलन जारी राखेका छन् ।
