
मोहन ठकुल्ला, डोटी
दिपायल सिलगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर घोषणा गरिएको छ । आइतबार जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको कार्यक्रममा पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलाशीले स्वास्थ्यकर्मीहरूको सहयोगले नगर पूर्ण खोप घोषणा हुन सफल भएको बताए। खोपलाई प्रभावकारी बनाउनको लागि सरोकारवालाको साथ चाहिने मलाशीको बताए । डोटी जिल्लाको हकमा पहिले खोपबाट वञ्चित भएका कारण धेरै बालबालिकाले अकालमै ज्यान गुमाउनु परेको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय उपप्रमुख स्मृति चुनाराले बताइन् । “स्वास्थ्य नै धन हो“ भन्ने मान्ययताका आधारमा स्वास्थ्य क्षेत्रमा योगदान दिन सकिने चुनाराको भनाइ छ ।
स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिने नगरपालिकाका प्रमुख बाजि सिंह खड्काले बताए । नगरपालिकाका विभिन्न क्षेत्रहरूको स्वास्थ्य क्षेत्रमा रहेका समस्याहरूमा मलम लगाउन तत्परता रहने प्रमुख खड्काले बताए । कार्यक्रममा नगरपालिकाका सबै वडाका स्वास्थ्य शाखा र विद्यालयहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।

