
सिलगढी : दिपायल सिलगढी नगरपालिकाले गैरा गाउँ, काडामान्डौ, सिलगढी खानेपानी आयोजनालाई रु. दुई करोड २० लाख दिने भएको छ । शनिवार गीता पुस्तकालयको प्राङ्गण सिलगढीमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख बाजी सीँ खड्काले उक्त घोषणा गरेका हुन् ।
आयोजनाबाट जनतालाई स्वच्छ पानी उपलब्ध हुने हुँदा नगरपालिकाले जनताको लागि दायाँ बाया नसोची घोषणा गरिएको रकम उपलब्ध गराउने नगर प्रमुख खड्काले बताए । प्रमुख खड्काले यो आयोजनाबाट डबल फाइदा उठाउन सकिने बताएका छन् । सिलगढीमा खानेपानी पु¥याउन अग्लो स्थानबाट पानी झारिएको हुनाले यसबाट ठुलो क्षमताको बिजुली निकाल्न सकिने उनको भनाई छ । प्रमुख खड्काले बिजुली निकाल्न सकिएमा धेरै जना लाभान्वित हुने भएकाले अध्ययन गर्न निजी क्षेत्रलाई अनुरोध गरेका छन् ।

कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेश मलासीले खानेपानी आयोजना सफल पार्न पानी दिन सहमत भई सहयोग गर्ने पुर्विचौकी गाउँपालिकाका नागरिकलाई धन्यवाद दिए । खानेपानीको हाहाकार हुने सिलगढीमा यो आयोजनाले ठुलो राहत दिने भएकाले वडाबाट हुने सबै सहयोग गर्न आफू तयार रहेको वडा अध्यक्ष मलासीले बताए ।
सिलगढी खानेपानी आयोजनाका अध्यक्ष जगत खड्काले खानेपानीको समस्या हुन नदिन गैरा गाउँको पानी अनौपचारिक रूपमा सिलगढी पु¥याइएको बताए । पानीको अभाव हुँदा उपभोक्ताले समस्या झेल्नु परेको विगत अन्त्य गर्न आफू अध्यक्षमा निर्वाचित भएदेखि प्रयासरत रहेको बताए ।
