
डोटी : दिपायल सिलगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु. ६४ करोड २५ लाख ४३ हजार नौ सय बराबरको बजेट ल्याएको छ । आइतबार नगरपालिकाको १४ औँ नगर सभाको दोस्रो बैठकमा उपप्रमुख कलावती महर साउदले आगामी आर्थिक वर्षको लागि बजेट पेस गरेकी हुन् ।

कुल विनियोजन मध्ये चालु तर्फ रु. ४४ करोड ५९ लाख तीन हजार ९ सय अर्थात् ६९ दशमलव ४० प्रतिशत र पूजिगत तर्फ रु १९ करोड ६६ लाख ४० हजार अर्थात् ३० दशमलव ६० प्रतिशत रहेको छ । कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिएर बजेट ल्याइएको उपप्रमुख साउदले बताइन् । कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण गर्ने उद्देश्य राखी नगर क्षेत्रको जमिन बाझो राख्न नदिने नीति अवलम्बन गर्ने उनको भनाई छ । नगरपालिकाले क्रमशः शिक्षा, स्वास्थ्य, पूर्वाधार, सूचना प्रविधि तथा सञ्चार, मानव संसाधन तथा सामाजिक विकास, उद्यम, वन वातावरण तथा पर्यटन र विपद् व्यवस्थापनलाई प्राथमिकता दिएको छ ।
नगरपालिकाले आयतर्फ आन्तरिक आय १ करोड ५२ लाख ६६ हजार ९ सय, बैङ्क मौज्दात ३ करोड १६ लाख ६० हजार, सङ्घीय वित्तीय समानीकरण ११ करोड ८२ लाख, प्रदेश वित्तीय समानीकरण १ करोड १ लाख ४४ हजार, सङ्घीय राजश्व बाँडफाँड १० करोड ६९ लाख २३ हजार, प्रदेश सवारी साधन कर बाँडफाँड ३७ लाख ७ हजार, स्थानीय राजश्व बाँडफाँड १९ लाख ७ हजार, सङ्घीय सशर्त अनुदान ३० करोड ४७ लाख, सङ्घीय विशेष अनुदान १ करोड ५५ लाख, सङ्घीय समपूरक अनुदान १ करोड २५ लाख, प्रदेश सशर्त अनुदान ५४ लाख ५० हजार, प्रदेश विशेष अनुदान ५० लाख, प्रदेश समपूरक अनुदान १ करोड १५ लाख ८६ हजार अनुमान गरेको छ ।
