
गणेश मौनी, डोटी
लागु पदार्थ दुर्व्यसनी तथा सामाजिक कुरुती विरुद्ध बडीकेदार गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।समाजमा हुने गरेका कुरीति, विकृति, विसङ्गतिको अन्त्य हुनुका साथै लागु पदार्थ दुर्व्यसनी लाई न्यूनीकरण गरी सभ्य समाज निर्माण गर्न बडीकेदार गाउँपालिका र प्रहरी चौकी खँड्यौलीको सहकार्यमा सचेतनामूलक कार्यक्रम मङ्गलवार बर्छैन माद्यामिक विद्यालयमा बर्छैनमा आयोजना गरिएको थियो ।
समाजमा रहेका विद्यमान कुरीति कुसंस्कारहरूको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् । उनले भनिन्, ‘हाम्रो समाज, छर छिमेक, टोलमा कुसंस्कार विकृति के के रहेका छन् तिनीहरूको पहिचान गर्नुपर्छ त्यसपछि न्यूनीकरण गर्न सहज हुन्छ ।’ बालबालिकाहरूलाई लक्षित गर्दै उपाध्यक्ष कलेलले बालबालिकाहरू आफ्नो हक अधिकार र कर्तव्यको बारेमा जानकार हुनुपर्छ अनि मात्र अरूलाई भन्न मिल्छ । त्यसैले विद्यालय क्याम्पसमा अध्ययनरत बालबालिकाहरू आफुमात्र सचेत नभई आफ्नो घर परिवारलाई समेत कुरीतिबाट सचेत रहन जानकारी गराउनु पर्ने बताइन् ।

समुदायमा हुने अपराधीक गतिविधिलाई न्यूनीकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निर्माणमा सहयोग पुगोस् भनेर कार्यक्रमको आयोजना गरेको बर्छैन माविका प्रधानाध्यापक इन्द्र बहादुर बमले बताउनु भयो । उनले, ‘भने बालबालिका भनेका भोलीका भविष्य हुन त्यसैले कुनै बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधि, लागु पदार्थ दुर्व्यसनी संलग्न हुनु हुँदैन कोही त्यस्ता बालबालिका छन् भने अभिभावक समेत सचेत हुनुपर्छ ।
कुनै पनि बालबालिका विकृति विसङ्गति, अपराधीक गतिविधि, लागु पदार्थ दुर्व्यसनी संलग्न नहुन भन्ने हेतुले प्रहरीले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पत्तले बताउनु भयो । प्रहरीले विभिन्न विद्यालय, गाउँघरमा गएर आपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दुर्घटना भइहाले प्रहरीलाई कसरी छिटो भन्दा छिटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउँदै आइरहेको समेत इन्चार्ज पन्तले बताउनु भयो ।
बर्छैन माद्यामिक विद्यालयमा आयोजना गरेको सचेतनामूलक कार्यक्रममा लागूपदार्थ दुर्व्यसनी, बालविवाह, लैंगिंक हिंसा, छाउपडी प्रथा लगायतका विषयवस्तुमा प्रहरी चौकी खँड्यौलीका इन्चार्ज भास्कर दत्त पत्त र पत्रकार गणेश मौनीले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ९, १०, ११ र १२ का बिद्यार्थिहरु र अभिभावकहरूको समेत सहभागिता रहेको थियो ।
