काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताएका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अजहा) २०८० को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका मुस्लिम समुदायलगायत समस्त नेपालीहरूमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले बहुजातीय, बहुभाषिक, बहु सांस्कृतिक, बहु धार्मिक एवम् भौगोलिक विविधतायुक्त विशेषता भएको नेपाल धर्म निरपेक्ष राज्य भएको उल्लेख गरे ।
बहु धर्म र बहु संस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् भन्दै प्रधानमन्त्री प्रचण्डले यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्त्वपूर्ण योगदान दिएको बताए ।