पार्टी मरेको समय र स्टालिनकालीन डर !

प्रदिप नेपाल (नेकपा नेता)
मान्छेले बुझेनन भन्दा पनि गर्ने तिमीहरू नै हौ! , भन्ने जवाफ पाइन्छ । जनताले आफैँ बुझ्न सक्दैनन, सिकाउनुपर्ने नेताले नै हो भनेर व्यंग्य मिश्रित जवाफ दिन्छन साथीहरूले । यसपालिको बर्खामा झापाबाट एउटा फोन आयो । पुरानो साथीले फोन गर्नुभएको रहेछ । साथीले भन्नुभयो, तपाईंले हामीलाई सिकाउनु भएका कुरा झूटा हुन कि कम्युनिस्ट पार्टीको वर्तमान शासन झुट हो ? सन्न भएँ म । शासकका कमी कमजोरी प्रति आलोचक त थिएँ नै म । तर मालेकालका राजनीतिबाट अहिले हामी पल्लै छेउमा पेलिएछौँ भन्ने सम्झिएर मन दुखेर आयो । तर पनि जवाफ त दिनु नै थियो, कमरेड, जीवन पनि एकनासले चल्दैन । कहिलेकाहीं तलमाथि भइरहन्छ । हामी आत्तिनु हुँदैन । त्यसपछि हामीले एकछिन आफ्नो पालामा भोगेका दिनहरूको संझना र्गयौँ । कुराकानीको अन्त्यमा उहाँले एउटा कुरो सोध्नुभयो, पार्टीले जनताको बहुदलीय जनवाद त छोड्दैन नि ? यहाँ मैले उठाउन चाहेको कुरो पार्टीका नेताहरूको जीवन शैलीमा आएको परिवर्तन र उनीहरूको व्यवहारले मालेकालीन संगठक र पार्टी कार्यकर्ताहरूको जीवनमा पारेको प्रभावबारे हो ।
वर्तमान सरकारले, अघिल्ला सरकारले गर्न नसकेका राम्रा कामहरू गरेको छ । तर, ती कामहरूले जनताको जीवनमा कस्तो प्रभाव पारेको छ भन्नेबारे नेताहरूलाई थाहा-पत्तो छैन । भारतले हडपेको र इतिहासले छुटाएको लिम्पियाधुरा समेटेर देशको नक्सा आएको छ । सडक बनेका छन, पुल पनि बनेका छन्। रेल पनि आयो । मुलुक भारतको दबावमा बसिरहनु पनि परेन । चीनतिर पनि बाटो खुल्यो । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्यो । पोखरामा क्षेत्रीय विमानस्थल बन्दैछ । काठमाडौंमा रानीपोखरीको पुनःनिर्माण भयो । भत्केको धरहरा ठडिँदै छ । कम्युनिस्ट पार्टीको सरकार नभएको भए यी कुनै काम हुने थिएनन्। । यी सबै राम्रा कामहरू नै हुन्। । अरु पनि धेरै राम्रा काम भएका छन्। सरकारले राम्रा कामहरूको जानकारी जनतामा र्पुयाउन सकेन । किन पुगेन ? पार्टी नै केन्द्रमा गुजुल्टिएको छ । दुई, चार, पाँच नभए छ जनामा सीमित भएको छ । अनि पुग्छ कसरी ? पार्टी सरकारलाई नदेख्ने सरकार पार्टीलाई नचिन्ने! एक अर्काको असफलतामा एउटै पार्टीभित्र रमाउन थालेपछि सबैका हातमा असफलता नै हात लाग्ने न हो त्यही भइरहेको छ ।
हामीले चाहेको समाजवाद भनेको प्रत्येक व्यक्ति स्वतन्त्र हुनुपर्छ । काम गर्नेले खाने हो, देश धनी भए काम नगर्नेले पनि खान पाउनुपर्ने हो । कुनै पनि मान्छेले खान पाउनका लागि काम गर्नुपर्छ । तर काठमाडौंको टुँडिखेल पशुपति र स्वयम्भूमा भिज्दै थाल थापिरहेकालाई सरकार वा पार्टीको साटो अरुले नै देखेका छन्। । सरकारले न भोकालाई देख्यो, न त भोकाको सेवामा जुट्नेलाई देखेको छ । अनि ती दुवैले सरकार र पार्टीहरूलाई कसरी देख्छन ? यसर्थ सरकारले गल्ती गरेको छैन भन्ने दावी मैले गर्न खोजेको होइन । पहिलो कुरा त सरकारसँग राज्य संचालनको कुनै सिद्धान्त नै छैन । राज्य संचालनको कुनै सिद्धान्त नभएको हुनाले सरकारले राम्ररी काम गर्न सकेको छैन । तर भएका कामलाई भएको हो त भन्न सक्नुपर्छ नि! नेताहरूले माक्सवाद पढेका छैनन्। । उनीहरू लेनिनवादमा अड्किएर बसेका छन्। । माक्सवाद भनेको स्वतन्त्रताको सिद्धान्त हो भने, लेनिनवाद अधिनायकत्व सिद्धान्त हो । त्यसैले उनीहरू ०५१-५२ सालतिर जस्तो प्रजातन्त्रजनित कार्यक्रम ल्याउनै सक्दैनन्। सम्पूर्ण अधिकार गाउँ र नगर पालिकामा भन्ने ज्ञान उनीहरूमा छैन । प्रधानमन्त्री र मन्त्रीहरूको काम एउटा टीमवर्क हो भन्ने समेत उनीहरू जान्दैनन्। ‘घर घरमा सिंहदरबार’ सुन्दा मीठो नारा दिनुभयो हाम्रा नेताहरूले । तर अधिकार चाहिँ डल्लो पारेर आफ्नै खल्तीमा राख्नुभयो । स्थानीय सरकार पनि अलमलियो, अल्मलिएरै बसेको छ । उनीहरूको एउटा संगठन पनि छ । त्यति हुँदाहुँदै पनि किन अघि सर्न सक्दैनन उनीहरू ? के यो स्टालिनकालको डर हो ? पालिका सरकार चलाउने साथीहरूले आफ्नो अधिकार प्रयोग गर्न सक्नुभएन भने तपाईंहरूले तल जनतालाई पनि अधिकार दिन सक्नुहुन्न ।

संघीयताबाट केही न केही काम हुन्छ भन्ने विश्वासबाट बाहिरिन सकेको छैन म । पूर्वबाट थालौं । काकरभिट्टा एउटा नगरपालिका हो । त्यो नगरपालिकासँग सबै तथ्यांक हुनुपर्छ । हिजो नेपाल देशको त्यो एउटा नगरपालिका थियो । सिंहदरबारको ठाडो शासन थियो । तर अहिले त तपाईंहरूलाई धेरै अधिकार दिएको छ नि! त्यो लेखेको मात्र होइन । त्यो तपाईंको अधिकारपत्र हो । त्यो तपाईंको दायित्व पनि हो । तपाईंको क्षेत्रमा बिजुली नजाओस । गयो भने तुरुन्त सरोकारवालालाई जानकारी होस । तपाईंको क्षेत्रमा कोही भोका नरहून्। । अर्थात, कम्तिमा पनि जनताहरू गुन्द्रुक-भात खान सक्ने होउन । एउटा सानो अस्पताल होस । बस्ने एउटा झुपडी सबैसँग होओस । काम चाहिं गर्नुपर्छ है! तराईका जिल्लाहरूमा हाम्रा खोलानालाले बर्खायाममा तबाह मच्चाएको हुन्छ । तर तिनै खोलाहरू हिउँदमा सुख्खा हुन्छन्। । शहर तरबुजा खान नपाएर गर्मी याममा हाईहाई गरिरहेको हुन्छ । तर बगरहरूमा ‘वाटरमेलन’ फलाउन कोही उद्यत हुँदैनन । पछिल्लो समयमा, खास गरेर भारतले सीमा बन्द गरेर आतंक मच्चाएको बेलामा अथवा आफ्नै त्रुटीका कारण फैलिएको कोरोना कालमा तरकारी खान नपाएर प्याकप्याक्ती परेका राजधानीबासीहरूले हरियो सब्जी खान पाएनन् भन्दा पनि हुन्छ । भारत छिमेक रहेसम्म, हामीले धेरै दुःख खेप्नुपर्ने हुन्छ । त्यस्तो नहोस भन्नका लागि हामीले आफैँ कमाउने, आफैँ खाने नीति लिनुपर्छ । आत्मनिर्भर अर्थतन्त्र भएपछि हामीले कसैको ज्यादती खेप्नुपर्दैन । यति कुरा कम्तिमा पनि गाउँ र नगरपालिकामा काम गर्ने साथीहरूले बुझ्नुपर्छ । हुन त अहिले नेपालमा पार्टीहरू मरेको नभए पनि बेहोस भएर लठ्ठिएको समय हो । तर नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता मरेका छैनन, नत लठ्ठिएका छन्। । तिनीहरूसँग मालेकालीन उत्साह अहिले पनि बाँचिरहेको छ ।
माथितिर नहेर्नुहोला । त्यो धेरै थाकिसकेको छ । त्यसले सपना देख्न पनि छोडिसकेको छ । तर तपाईं त थाक्नु भएको छैन नि! केही नाम चलेका नेताहरूले अकुत कमाउनुभयो भनेर मनोपीडामा पनि नबस्नुस । उहाँहरूलाई अब पुग्यो भन्दा हुन्छ । अकुत त्याग गर्नुभो । केहीले अकुत सम्पत्ति पनि कमाउनुभयो होला । केहीले अकुत गाली कमाउनु भो । केहीले अकुत प्रशंसा कमाउनु भो । जे(जे कमाउनु भो, अब पुग्यो । जनता जागेको देशमा जहिलेसम्म मेरा हातखुट्टा चल्छन म काम गरिरहन्छु भन्ने अठोट लिनुस । किनभने तपाईंहरूले यो सिंगो राज्य हेर्नुपर्दैन । तपाईंले आफ्नो सानो क्षेत्र हेर्ने हो । माथिले के गर्ला भनेर आत्तिने होइन । माथि अब धेरै गलिसकेको छ । माथिले अब बिगार गर्न मात्रै जान्दछ । मेरा साथीहरू नरिसाउनुस । म तपाईंहरूसँग छैन अब । युवाहरू नै परिवर्तनका वाहक हुन्छन्। । हामी पनि युवा छँदै गरेका थियौं । अब बुढ्यौली लाग्यो भन्न हिच्किचाउनु हुँदैन । हाम्रो पुस्ताको काम सकियो अब । संघीय गणतन्त्र ल्याउनेसम्म हाम्रो काम थियो । त्यो हामीले ल्यायौं । हामी युवा थियौं, त्यसैले धेरै काम गरेका थियौं । अब त्यो शक्ति पछिल्लो पुस्तामा सारौं । एउटा काम बाँकी छ, त्यो हामीले गर्न बाँकी छ । हाम्रा अनुभवहरूले आजको पुस्तालाई सज्जित गरौं । क्रान्तिकारी परिवर्तन सजिलो छैन है! त्यसमा हामीले बिताएका भूमिगत राजनीतिक जीवनमा जत्तिकै निःस्वार्थ, त्याग र तपस्याको आवश्यकता छ ।
थाहा खबर बाट साभार

