सुदूरपश्चिममा एम्बुलेन्स चाहिए १०२

सुदूरपश्चिम प्रदेशमा आकस्मिक एम्बुलेन्स सेवा चाहिएमा १०२ मा डायल गर्नु पर्नेछ । प्रदेशका सडक दुर्घटना भएमा वा अन्य कुनै बिरामी भएर आकस्मिक एम्बुलेन्स चाहिएमा छिटो एम्बुलेन्स उपलब्ध गराउने हेतुले स्वास्थ्य निर्देशनालय राजपुरले आकस्मिक एम्बुलेन्स सेवा प्रेरण केन्द्र स्थापना केन्द्र स्थापना गरि सेवा गरिएको निर्देशक जगदिश जोशीले बताए । जोशीले भने ‘ बिरामीलाइ सक्दो चाँडो एम्बुलेन्स उपलब्ध गराउने, एम्बुलेन्स खोज्नका लागी अन्य हैरानी खेप्न नपरोस भनेर आकस्मिक एम्बुलेन्स सेवा प्रेरण केन्द्र मार्फत सेवा प्रदान गर्नेगरी काम गरेका छौँ ।’
१०२ मा सिधैँ वा त्यसमा सम्पर्क हुन नसकेका +९७७१०२ मा डायल गरेमा आकस्मिक एम्बुलेन्स सेवा प्रेरण केन्द्रले नजिकमा रहेको एम्बुलेन्सबारे जानकारी दिई चालकलाई सम्पर्क नम्बर दिने चालकसंग कुरा गरेर बिरामीका आफन्तलाई भन्ने दुबै पक्षमा बिचमा सहजिकरण गर्ने काम गर्ने प्रेसण केन्द्रमा कार्यरत शान्ति धामीले बताईन् । एम्बुलेन्सका लागी १०२ देशभर भए पनि सुदूरपश्चिम प्रदेशले प्रेसण केन्द्र नै स्थापना गरेर सेवा प्रदान सुरु गरेको छ ।
प्रेसण केन्द्रमा इर्मेजेन्सी मेडिकल कियर (ईएमडी) तालिम प्राप्त स्वास्थ्यकर्मी हुने भएका कारण बिरामीको अबस्था बारे जानकारी लिई उनिहरुलाई तत्काल गर्नु पर्ने उपचार बिधी समेत आफन्तलाई जानकारी दिएर प्रारम्भीक उपचार गर्न पनि केन्द्रबाट सुझाउने गरिएको स्वास्थ्य निर्देशनालय राजपुरका जनस्वास्थ्य निरिक्षक उत्तमराज उपाध्यायले बताए । उपाध्यायले भने ‘आकस्मिक एम्बुलेन्स सेवा प्रेरण केन्द्र स्थापना गरी सेवा प्रदान गर्ने सुदूरपश्चिम पहिलो हो, हामीले यस्लाई अझ ब्यबस्थित बनाउँदै लैजाने छौँ ।’


कार्यालयले १०२ मा अनाबश्यक कल आउने गरेकाले त्यस्ता कल नगर्न सबैमा अनुरोध समेत गरेको छ । तपाईको अनाबश्यक कलका कारण अर्कोको ज्यू ज्यानमा समेत असर पर्न सक्ने भएकाले फेक कल नगर्नका लागी स्वास्थ्य निर्देशनालयले अनुरोध समेत गरेको छ ।

