
काठमाडौँ : जिम्बाब्वेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको प्ले अफमा नेपालले युएईद्वारा १८२ रनको विजय लक्ष्य पाएको छ । आइतबार नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । ब्याटिङको निम्तो पाएको युएई नेपालबाट सुरुदेखि नै दबाबमा परेको थियो । युएईले ४६.५ ओभरमा अलआउट हुँदै १८१ रन बनायो ।
नियमित कप्तान मोहम्मद वासिम चोटग्रस्त हुँदा ओपनिङ गरेका आसिफ खान खाता नखोली आउट हुँदा अर्का ओपनर अर्यान्स शर्माले तेस्रो नम्बरमा आएका कप्तान भृत्य अरविन्दसँग मिलेर दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । आर्यन्सलाई सन्दीप लामिछानेले २८ रनको स्कोरमा आरिफ शेखबाट क्याचआउट गराए भने यूएईको इनिङ्समै सर्बाधिक ४४ रन बनाएर अरविन्द गुल्सन झाबाट बोल्ड भए । त्यसपछि रमिज शहजाद १० रनमै आउट भए पनि रोहन मुस्तफा र बसिल हमिदले पाँचौं विकेटका लागि अर्को ५८ रनको साझेदारी गरे । मुस्तफाले ३५ तथा हमिदले २९ रज जोडे । सन्चित शर्माले १२ रन बनाए ।

बलिङमा करण केसी र सन्दीप लामिछानेले ३–३ विकेट लिए । सन्दीपले १० ओभरमा ३ मेडन राख्दै २३ रन खर्चिए भने करणले ८.५ ओभरमा ३६ रन खर्चिए । प्रतीश जिसी, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए । आजको खेलमा यसअघि नियमित टिममा रहेका आसिफ शेख, कुशल मल्ल र ललित राजवंशीलाई आराम दिइएको छ । उनीहरुको स्थानमा ज्ञानेन्द्र मल्ल, अर्जुन साउद र प्रतिश जिसीले सुरुवाती टिममा स्थान पाएका छन् ।
नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
