हस्तान्तरण भएको एक वर्षमै भत्किन थाल्यो सिलगढी, झिग्राना सडक

मोहन ठकुल्ला, डोटी
सिलगढी ओखरबोट, बगलेक झिग्राना सडक कालोपत्रे गरिएको एक वर्षमै भत्किएको छ ।  सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तडलाई केन्द्र बिन्दु बनाएर निर्माण गरिएको सडक भत्किन थालेको छ । यो सडकको निर्माण कार्य सुदूरपश्चिम प्रदेश सरकारको रु. ४० करोड लागतमा सम्पन्न भएको हो ।
चन्द्र एण्ड वसन्त (सिएबी) कन्स्ट्रक्सन निर्माण कम्पनीले वि.स २०७९ असार मसान्तमा पूर्वाधार विकास कार्यालय डडेल्धुरालाई सडक हस्तान्तरण गरेको थियो । हस्तान्तरण गरेको एक वर्षमै ठाउँठाउमा पानीले कालोपत्रे बगाएको छ भने धेरै ठाउँमा लगाइएको ग्याविन जाली पहिरोले बगाएको छ ।  सडक खण्डको नाली भत्किएपछि पानी सडकमै बग्दा कालोपत्रे बगेको स्थानीयले बताएका छन् ।
Sayalb
“कालोपत्रे गर्दा चिल्लो देखिने सडक अहिले कालोपत्रे गरेको हो कि हैन भन्ने थाहा पाइँदैन, स्थानीय सवारी चालक कृष्ण बहादुर ओलीले भने, सडकको कालोपत्रे सबै बगाएको छ ।”  सडक कालोपत्रे भएपछि खुसी भएका स्थानीय कालोपत्रे भत्किन थालेपछि निराश हुन थालेका छन् । निर्माण व्यवसायीले कमसल तरिकाले कालोपत्रे गरेका कारण चाँडै सडक भत्किएको स्थानीय दिल बहादुर साउदको आरोप छ । बाहिर चिल्लो देखिएको सडकको गुणस्तर मापन नगरिँदा यस्तो समस्या देखिएको उनले बताए ।
जिल्ला सदरमुकाम सिलगढीबाट ओखरबोट हुँदै बगलेक झिग्रानासम्म यो सडकको लम्बाइ १५.६ किलोमिटर छ । यस सडकले सायल गाउँपालिकालाई पनि जोडेको छ । यसरी निर्माण सम्पन्न भएको छोटो समयमै सडक भत्किन थालेपछि सरकारको लगानी  बालुवामा पानी हाले जस्तै भएको छ ।
 
Shaileshwori
Loading...