
डोटी : पद्म पब्लिक मुक्तिनारायण माद्यामिक विद्यालयले असल अभ्यास आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । दिपायल सिलगढी नगरपालिकाको सहयोगमा बुधवार पद्म पब्लिकले विद्यालयको हलमा कार्यक्रमको आयोजना गरेको हो । नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका सरोकारवालाको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
एक अर्कामा आदानप्रदान गर्नका लागि कार्यक्रममा विद्यालयहरूले गर्दै आएका सकारात्मक अभ्यास प्रस्तुत गरेका थिए । एक विद्यालयले अवलम्बन गरेका सकारात्मक क्रियाकलाप अर्को विद्यालयले पनि अपनाउने कार्यक्रममा सहभागी विद्यालयले बताएका छन् । कार्यक्रममा पद्म पब्लिक विद्यालयका प्रधानाध्यापक केशव ओझाले विद्यालयका सकारात्मक पक्ष र वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार केही दिन पहिला प्रकाशित भएको एईईको नतिजामा पद्म पब्लिक माद्यामिक विद्यालय दिपायल सिलगढीकै उत्कृष्ट बनेको छ । यश विद्यालयबाट शैक्षिक सत्र २०७९ को एईईको परीक्षा दिएका एक सय ९ जना विद्यार्थीमा दुई जनाले मात्रै २ जिपिए भन्दा कम नम्बर ल्याएका छन् । यो वर्ष २ जनाले एक प्लस ल्याएका छन् ।
पद्म पब्लिकले शिक्षक र विद्यार्थीका लागि ई हाजिरीको व्यवस्था गरेको प्रधानाध्यापक ओझाले बताए । दिनको दुई पटक विद्यार्थीको हाजिरी हुने र शिक्षकहरुको पनि प्रत्येक दिनको हाजिरी फाइलिङ गरेर राख्ने गरेको ओझाले बताए । उनले विद्यालयमा विद्यार्थी लग बुकको व्यवस्था रहेको पनि बताएका छन् । विद्यार्थी लक बुक मार्फत प्रत्येक शिक्षकको मूल्याङ्कन विद्यार्थीले गर्ने र त्यसैका आधारमा महिनाको मसान्तमा समीक्षा हुने गर्ने गरेको ओझाले बताए ।

अभ्यास आदानप्रदानका क्रममा बोल्दै अम्मर ज्योति बोर्डिङ स्कुल दिपायलका प्रधानाध्यापक मुकेश भट्टले सामुदायिक विद्यालय र संस्थागत विद्यालय दुस्मन बन्न नहुने बताए । सामुदायिक विद्यालयले पनि प्रतिस्पर्धात्मक क्षमताको वृद्धि गरी संस्थागत र सामुदायिक दुवै विद्यालयले स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो । उनले प्रविधिका कारण शिक्षकलाई चुनौती थपिएको र शिक्षक जागिरे मानसिकताबाट माथि उठ्नुपर्ने बताए । यसरी शिक्षकले चाहेमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्राप्त गर्न सहज हुने उनको विश्वास छ ।
पद्म पब्लिकका सहायक प्रधानाध्यापक हिक्मत शाहीले स्थानीय सरकारबाट विद्यालयको नियमित अनुगमन हुनुपर्ने बताए । शिक्षक शाहीले प्रक्रिया पूरा गर्नका लागि मात्रै नभएर गुणस्तरीय शिक्षाका लागि सबैले आ-आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । शिक्षक सङ्गठनहरूले पार्टीका लागि मात्रै काम गर्ने गरेको उनको आरोप छ । गुणस्तरीय शिक्षाका लागि पनि बैठक बसेर शिक्षक सङ्गठनहरूले छलफल गर्नुपर्ने उनको भनाइ छ । व्यवस्थापन समितिका अध्यक्षले उपभोक्ता समितिबाट माथि उठ्दै शैक्षिक गतिविधिमा पनि ध्यान दिन जरुरी रहेको शाहीले बताए । साथै सबैभन्दा बढी शिक्षक नै जिम्मेवार बन्नुपर्ने र शिक्षकलाई पछिल्लो समय हेर्ने दृष्टिकोण फरक भएकाले सबै जबाफदेही बन्नुपर्ने बताए ।
दुर्गा माद्यामिक विद्यालय पाकरीका प्रधानाध्यापक हिक्मत घलेले पद्म पब्लिक विद्यालयबाट थुप्रै कुरा सिकेको बताए । आफ्नो विद्यालयमा भर्खरै माद्यामिक तह (कक्षा ९-१०) को कक्षा सुरु भएको र आफू पनि नयाँ नै भएकाले अन्य विद्यालयका राम्रा अभ्यासको सिको गर्ने उनले बताए । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सक्दो प्रयासरत रहेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढीका प्रमुख बाजि खड्काले शिक्षा क्षेत्रमा थुप्रै समस्या रहेको बताए । समस्या छ भन्दैमा यसबाट कोही पनि उम्किन नखोजी मिलेर सहकार्य गर्नुपर्ने प्रमुख खड्काले बताए । पद्म पब्लिकले पछिल्लो समय थुप्रै राम्रा अभ्यास गरिरहेको बताउँदै यसबाट अन्य विद्यालयलाई सिको गर्न र एक अर्काका राम्रा अभ्यास अवलम्बन गर्न पनि उनले आग्रह गरे ।
